काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शीर्ष नेताहरू नयाँ सरकार गठनको तयारीमा सक्रिय भएका छन्। पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, र उपसभापतिद्वय स्वर्णिम वाग्ले तथा डोलप्रसाद अर्यालले सरकार गठनका गृहकार्य र रणनीतिका विषयमा छलफलमा जुटेका हुन् ।
रास्वपाले हालै सम्पन्न आम निर्वाचनमा ठूलो बहुमत हासिल गरेकोले पार्टी भित्रैबाट नयाँ सरकार गठनका लागि योजना बनाउने काम तीव्र भएको देखिन्छ। बिहीबार साँझ भएको बैठकमा नेताहरूले आगामी कदम, नेतृत्वका विकल्प, र मन्त्रिपरिषद् गठनको तयारीबारे विचार विमर्श गरेका छन्।
पार्टीका नेताहरूले प्रतिनिधि सभाका नयाँ सांसदहरू शपथ ग्रहण गरेपछि औपचारिक रूपमा सरकार गठन प्रक्रिया अघि बढाउने तयारीमा रहेको उल्लेख गरेका छन्। निर्वाचन आयोगले समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि प्रधानमन्त्री चयन, मन्त्रिपरिषद् गठन र नीति घोषणा जस्ता प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।