
गलेश्वर, चैत ३ । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ ।
यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ एसइई मा समावेश हुने छात्रालाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने भएकोे हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत् छात्रा महीनावारी भएकै कारण विद्यालयमा नजाने र विद्यालय छोड्ने गरेको तथ्याङ्कलाई मध्यनजर गर्दै प्रदेशको सामाजिक विकास मन्त्रालयले एसइई परीक्षा प्रभावित नहोस् भनेर म्याग्दीमा सेनेटरी प्याड वितरण गर्ने जनाएको हो ।
मन्त्रालयकी प्रमुख महिला विकास अधिकृत तुलसा अर्यालले निमित्त एकाइ प्रमुख केशबहादुर बुढाथोकीलाई १५ हजार रुपैयाँ बराबरको प्याड खरीद गर्न चेक हस्तान्तरण गरे ।
मन्त्रालयका अधिकृत अर्यालले छात्रामा हुने महीनावारीलाई सहजरूपले व्यवस्थापन गरी परीक्षामा सहभागी गराउन प्रदेशभित्रका सबै जिल्लामा सहयोग गरिएको बताए ।
एसइई परीक्षा चैत १० गतेदेखि शुरु हुँदैछ । म्याग्दीमा दुई हजार २४२ विद्यार्थी सहभागी हुने परीक्षामा एक हजार १११ छात्रा रहेका छन् । सामाजिक विकास मन्त्रालयले छात्रा सङ्ख्याको अनुपातका आधारमा सेनेटरी प्याड खरीदका लागि शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीलाई रु १५ हजार बराबरको चेक हस्तान्तरण गरेको छ ।
शैक्षिक सामग्री सहयोग
म्याग्दीको एक लायन्स क्लबले दुर्गम विद्यालयका विद्यार्थीलाई छात्रवृति तथा शैक्षिक सामग्री सहयोग गरेको छ ।
बेनीमा रहको लायन्स क्लब अफ बेनी पिस सिटीले मङ्गला गाउँपालिका–३ बरंजामा रहेको दुई विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री सहयोग गरेको हो । शनिबार एक कार्यक्रममा जनप्रिय आधारभूत विद्यालय खर्क र महेन्द्ररत्न माध्यमिक विद्यालयका गरीब तथा विपन्न परिवारका विद्यार्थीलाई सो सहयोग प्रदान गरिएको हो ।
लायन्स क्लब र महेन्द्ररत्न मावि बरंजा छात्रवृति अक्षकोषको संयुक्त आर्थिक सहयोगमा महेन्द्र रत्न मावि कक्षा ११ मा अध्ययनरत् ६ जनालाई प्रति विद्यार्थी पाँच हजार र एक जनालाई १० हजार गरी ४० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।
लायन्स क्लबले जनप्रिय मावि र महेन्द्र रत्न माविका ६ जना विद्यार्थीलाई एक वर्षका लागिप्रति विद्यार्थी ३० हजार बराबरको शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । ती विद्यार्थीलाई एक वर्षका लागि कापी, कलम, झोला तथा प्रति विद्यार्थी एक जोर कपडा प्रदान गरिएको हो ।
आँखा शिविर
म्याग्दीको सदरमुकाम बेनी बजारमा सम्पन्न तीनदिने निःशुल्क आँखा शिविरबाट एक हजार ६०० बढी आँखाका बिरामी लाभान्वित भएका छन् ।
शिविरमा ८२ जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । ‘हामी नेपाली’ काठमाण्डौँको आयोजना, नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाण्डौँको प्राविधिक सहयोग, बेनीका विभिन्न लायन्स क्लब, नेपाल रेडक्रस सोसाइटी म्याग्दी र आर्ट फाउण्डेसन काठमाण्डौँको व्यवस्थापनमा निःशुल्क आँखा शिविर सम्पन्न भएको हो ।
शिविरमा उपचार हुन नसकेका ९ जना जटिल बिरामीलाई हिमालय आँखा अस्पताल पोखरा सिफारिस गरिएको शिविरका संयोजक एवं नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका नेत्ररोग विशेषज्ञ डा कल्याण ढुङ्गानाले जानकारी दिए ।
शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माको नेतृत्वमा १० चिकित्सकको टोलीले सेवा प्रदान गरेको थियो । शिविरमा आएका धेरै जसो बिरामीको दृष्टि दोष ९धेरै टाढा वा नजिक०को समस्या रहेको र उनीहरूलाई चस्मा लगाउन आवश्यक देखिएको शिविरका प्रमुख चिकित्सक वरिष्ठ नेत्ररोग विशेषज्ञ डा अर्चना शर्माले बताए ।