नेपाल–भारत सम्बन्ध आत्मीय राजदूत राय

दियो पोस्ट  

पाल्पा, १७ चैत । भारतीय राजदूत रणजित रायले नेपाल–भारतको सम्बन्ध आत्मीय रहेको बताएका छन् ।

पाल्पा उद्योग वाणिज्य सङ्घ पाल्पाले मङ्गलबार साँझ यहाँ आयोजना गरेको स्वागत कार्यक्रममा उनले नेपाल र भारतबीच केही खटपट हुनु सामान्य भएको बताए । वार्ता र सहमतिबाट समस्या समाधान हुने उनको भनाइ थियो ।

नेपालमा विकासको फड्को मार्न भारत सरकारले नेपालको शिक्षा, स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेको बताए। रु पाँच करोडसम्मको भारतीय दूतावासले सिधै लगानी गर्न सक्ने भएकाले प्याकेजमा कार्यक्रम बनाउन उनले अनुरोध गरे ।

भारतले दक्षिण एसियाको नै विकास गर्न चाहेको उनको दाबी थियो । भारतले विकासको राजनीति गरेको पनि बताए । उनले शिक्षित र दक्ष जनशक्ति नेपालले उत्पादन गर्न सकेको अवस्थामा नेपाली बेरोजगार नहुनुपर्ने बताए ।

कार्यक्रममा पाल्पाको विकासका लागि धेरै सम्भावना रहेको र त्यसका लागि भारत सरकारको सहयोग रहने पनि बताए ।

पूर्वमन्त्री माधव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि नेपाल–भारतको सम्बन्ध फराकिलो बनाउन कोसे ढुङ्गा सावित भएको बताए । उनले नेपाल–भारत मिलेर दुवै देशको विकास गर्न सकिने धारणा राखे ।

पाल्पाको पर्यटन विकासका लागि सिद्धबाबा क्षेत्रको सडक सुधार गर्नुपर्ने बताए । नेपाल सरकारले यस सिद्धार्थ राजमार्गको निर्माणका लागि भारत सरकारलाई अनुरोध गरेमा भारत सरकारको प्राथमिकतामा पर्ने बताए । यसैबीच, रायले जिल्लाका राजनीतिक दलका प्रमुख, व्यवसायीलाई समेत सामूहिक रुपमा भेटेबम थिए ।