केशव अधिकारीको खण्डन : ‘सिद्धलेकसँग सम्बन्धित अत्यावश्यक सेवा मात्रै दिएको छु’

दियोपोस्ट संवाददाता  

 

काठमाडौं । धादिङको सिद्धलेक गाउँपालिकासँग ब्ल्याकमेलिङ गरेको भन्दै प्रेस काउन्सिलमा परेको उजुरीका आधारमा प्रकाशित समाचारमा पत्रकार केशव अधिकारीले खण्डन गरेका छन् ।
गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले प्रेस काउन्सिलमा पत्रकारहरु केशव अधिकारी, अनिल अछामी र सिताराम अधिकारी विरुद्ध पत्रकारीताको आवरणमा अनैतिक क्रियाकलाप गरेको भन्दै उजुरी दिएका थिए । सोही विषयमा दियोपोस्टसहितका संचार माध्यममा समाचार प्रकाशन भएपछि उनले खण्डन गरेका हुन् ।
उनले सिद्धलेक गाउँपालिकासँग सम्बन्धित अत्यावश्यक सेवा मात्रै दिएको र ब्ल्याकमेलिङ नगरेको दाबी गरेका छन् । दियोपोस्टको ईमेलमा प्रसित अधिकारीको खण्डन जस्ताको तस्तै :
श्री सम्पादक ज्यु,
दियोपोस्ट डटकम
विषय ः भ्रामक समाचारको खण्डन छापिदिनु हुन ।

धादिङ जिल्ला सिद्धलेक गाउँपालिकाको शिक्षा समितिको मिति २०८२/०४/२९ गतेको निर्णय अनुसार गाउँपालिका भित्रका बिद्यालय समायोजन (खारेजी), शिक्षक सरुवा, विद्यालय वर्गिकरण लगायतका बिषयमा गाउँपालिकाको वेभसाईट https;//siddhalekmun.gov.np/ मा राखिएको सुचनाका आधारमा मैले २०८२÷०५÷०३ गते धादिङ न्यूज डट कममा सिद्धलेकका ९ वटा विद्यालय बन्द गरिने शिर्षकमा समाचार लेखेको थिएँ । शिक्षा समितिको निर्णयलाई आधार मानि समाचारमा विद्यालय समायोजन (खारेजी), शिक्षक सरुवा र बिद्यालय वर्गिकरणको बिषयलाई समेटेर समाचार लेखेको हो । सोही क्रममा सिद्धलेक ७ को भाल्डाँडामा रहेको जाल्पादेवी आविमा अंग्रेजी बिषयको शिक्षक दरवन्दी सहित सरुवा गरेकोमा त्यहाँका स्थानीयले बिद्यालय तालावन्दी गरेर पठनपाठन रोकेको भिडियो सहितको जानकारी दिएपछि त्यस बिषयलाई पनि समाचारमा जोडेको थिएँ । सार्वजनिक सरोकारका बिषयमा समाचार लेख्नु मेरो धर्म हो । भदौ ३ गते विहान समाचार पोष्ट गरेर म काम बिशेषले काठमाण्डौं गएको थिएँ । ४ गते म आफ्नो व्यवसाय रहेको स्थान सिद्धलेक ४ बुङचुङ पुगें जुन गाउँपालिका कार्यालय नजिकै छ । डेस्कटप सम्वन्धी सेवा र अनलाइनको कार्यालय पनि त्यहि रहेकाले अधिकांश काम म त्यहि बाट गर्दछु । पसलमा आएका सेवाग्राहीको काम गरिरहेको समयमा भदौ ४ गते अपरान्ह १२.३० वजे तिर गाउँपालिकाका सुरक्षाकर्मी निरज भट्ट पालिकाको क्म्व्याट ड्रेसमा मेरो कार्यकक्षमा आई तपाईलाई अध्यक्ष ज्यूले वोलाउनु भएको छ तुरुन्त अध्यक्षकोमा हिड्नुहोला भने । मैले आंफु काम गरिरहेको र केही बेरमा आउने जानकारी दिंदा अध्यक्ष ज्यूले तुरुन्तै वोलाएर ल्याउनु भन्नु भएको छ भने पछि चलिरहेको कम्प्युटर सिष्टमबाट वन्द गरि युपिएस समेत बन्द गरेर पसलबाट अध्यक्षको कार्यकक्ष तर्फ गएँ । म त्यहाँ पुग्दा अध्यक्षको कार्यकक्षको ढोका वन्द थियो, एकछिन बाहिर उभिए पछि मलाई वोलाउन जाने सुरक्षाकर्मीलाई सोधे, भित्र त अर्कै मिटिङ जस्तो छ के हो भने, उनले तपाई समेत बस्ने मिटिङ हो भित्र जानुस भनेर ढोका खोली दिएपछि भित्र पस्दै कुर्सीमा बसिरहेका अध्यक्ष परशुराम खतिवडालाई शिष्टाचार पुर्वक नमस्कार अध्यक्ष ज्यू भने । उनले नमस्कार पनि फर्काएनन मलाई देख्नासाथ उल्टै बिद्यालय वन्द भएको भनेर किन समाचार लेखेको , कसले भनेर लेखेको अरुलाई लेख्न किन लगाएको, के भनेर पालिकाको समाचार लेखेको भने । मैले कुन समाचारको कुरा गर्नु भएको भनि सोध्दा अनिल नेपालीको अनलाइनमा तपाईले किन समाचार लेखाएको भन्दै झर्रो भाषामा वोलिरहे । त्यति बेला कार्यकक्षमा प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, शाखा अधिकृत अनिल दुवाडी, गाउँपालिका प्रहरीका इन्चार्ज हवल्दार रण बहादुर घले र अन्य ४÷५ जना व्यक्ति थिए ति को को हुन म चिन्दिन । म भित्र पसेको केही बेरमा प्रमुख प्रशासकीय अधिकृत शर्मा कार्यकक्षबाट बाहिर निस्कनु भयो । अरु त्यहिं थिए । नगर प्रहरी लगाएर कार्यकक्षमा वोलाउने र समाचार संग असम्वन्धित व्यक्तिलाई राखेर समाचारको बारेमा स्पष्टिकरण लिने अध्यक्षको शैली सरासर गलत छ । उहाँले समाचारमा चित्त नबुझेको भए दुई जना मात्रै बसेर कुराकानी गर्न पनि सकिन्थ्यो तर उहाँबाट जंगी शैलीको व्यवहार भएकोमा मेरो आपत्ति हो । पालिका अध्यक्ष सुरक्षा निकायको अधिकारी होइन जनताको सेवक हो । उहाँको शैली जनमुखी हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
मैले अध्यक्षलाई समाचारको बिषयमा तपाईले मलाई किन हप्काएको विधि अनुसार खण्डन गर्ने प्रकृयामा जानुहोस भन्दा मलाई वेवास्ता गरी पत्रकार अनिल नेपालीको नम्बर दिनुस भन्नु भयो मैले म संग अनिल नेपालीको नम्बर नभएको जानकारी दिएपछि शाखा अधिकृत दुवाडीले नम्बर खोजेर अध्यक्षलाई उपलव्ध गराएपछि त्यो समाचार किन लेखेको, कस्ले लेख भनेर लेखेको, मेरो गाउँको वारेमा किन समाचार लेख्नु प¥यो भन्दै अनिललाई पनि अध्यक्षले मोवाईलबाट हप्कीदप्की गर्नुभयो ।
त्यो दिन त्यतिकै भयो,पत्रकार महासंघका अध्यक्ष धादिङ वाहिर भएकाले भेट्न सकिएन । ८ गते बेलुकी उहाँ संग कुराकानी भयो, मैले चार गते सिद्धलेक गाउँपालिकामा भएको जे हो त्यो जानकारी उहाँलाई जानकारी गराएँ । ९ गते उहाँले महासंघको तर्फबाट घटनाको निन्दा गर्दै बिज्ञप्ति निकाल्नु भयो । बिज्ञप्ति नेपाल पत्रकार महासंघ केन्द्रिय समिति,प्रेस चौतारी नेपाल, समाजवादी प्रेस संगठनले पनि निकाले । त्यहि बिज्ञप्तिको आधारमा विभिन्न सञ्चार माध्यममा समाचार आएपछि गाउँपालिका अध्यक्षले शुरुको समाचार लेख्ने केशव अधिकारी, अनिल नेपाली र पत्रकारलाई गरिएको अपमानजनक व्वयहार बिरुद्ध बिज्ञप्ति निकाल्ने महासंघ अध्यक्ष सीताराम अधिकारीलाई उल्टै झुठा आरोप लगाई भदौ १२ गते प्रेस काउन्सिल नेपाललाई उजुरी दिनुभएछ । सोही उजुरीको छायाँ प्रति सिसिटिभी फुटेज समेत राखी मेरो समेत नाम जोडेर लेखेको समाचारमा कुनै सत्यता छैन । गाउँपालिका अध्यक्षले लगाउनु भएको आरोप पुष्टि गर्न म उहाँलाई चुनौती दिन चाहन्छु । अध्यक्ष खतिवडा संग पहिलो पटक २०८२ भदौ ४ गते उहाँको कार्यकक्षमा मैले भेटेको हुँ । यस अघि उहाँ सँग तीन पटक गरी १०÷१५ सेकेण्ड जति कुरा भएको छ । मैले आज सम्म सिद्धलेक गाउँपालिकामा कुनै किसिमको काम दिनुस भनेर कोही सँग मागेको छैन, अध्यक्षले लगाउनु भएको आरोपको पुष्टि गर्ने आधार पेश गर्न चाहन्छु । मैले पालिकासंग सम्वन्धित अत्यावश्यक सेवा दिएपनि मेरो लागि काम दिनुस भनेको छैन । कोही संग कुरा कानी गरेको भए प्रमाण पेश गर्न अनुरोध गर्दछु । हुंदै नभएको आरोप लगाएर मेरो वदनाम गर्ने काम जो जोबाट भएको छ तिनिहरु बिरुद्ध कानूनी उपचारमा जान अब म बाध्य हुनेछु । मैले २५ बर्षको पत्रकारितामा कोही संग कुनै वार्गेनिङ गरेर समाचार लेखेको छैन । पत्रकारको धर्म भनेको ओझेलमा परेका बिषयलाई समाचार वनाउनु हो । सिद्धलेक गाउँपालिका अध्यक्षले समाचार र पत्रकारिताको मर्म बुझ्न नसक्दाको कारण यो समस्या निम्तिएको हो । आफ्नो प्रशंसा र गुनगान बाहेक अरु कुनै बिषयलाई समाचार नदेख्ने गाउँपालिका अध्यक्ष ज्यूको बुझाई रहेछ । मैले सिद्धलेक गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी कोहि संग कुनै दिन मेरो व्यवसायका लागि सहयोग गरिदिनुस भनेर कुनै सर्त राखेको, कोही संग बसेर सल्लाह गरेको समेत छैन । पालिका अध्यक्षले आफ्नो गल्ती ढाकछोप गरी बिषयान्तर गर्न म माथि मनगढन्ते आरोप लगाउनु भएको हो । यो आरोपको सार्वजनिक रुपमा पुष्टि गर्न म अध्यक्षलाई चुनौती दिन चाहन्छु ।
केशव अधिकारी
धादिङ न्यूज डट कम