रोल्पाको जलजलामा भएको जीप दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रोल्पाको जलजला क्षेत्रमा बिहीबार भएको जीप दुर्घटनामा २० जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा १२ महिला, ४ पुरुष र ४ बालबालिका रहेका छन्।

मृत्यु भएका व्यक्तिहरूको पहिचान भइसकेको छ र आजै उनीहरूको शव परिवारलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । दुर्घटनास्थलमा आज बिहानैदेखि खोज तथा उद्धार कार्य पुनः सुरु गरिएको छ। हिजो वर्षा र साँझ परेपछि उद्धार कार्य रोकिएको थियो।

रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार आजै मृतकहरूको पहिचान प्रक्रिया पूरा गरी आफन्तलाई शव जिम्मा लगाइने बताइएको छ। रुकुमपूर्वबाट थवाङ गाउँपालिका-१, जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जीप बिहीबार दिउँसो दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा दुर्घटनामा घाइते भएका रुकुमपूर्व सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामीलाई राति नै रुकुम पूर्व अस्पतालबाट थप उपचारका लागि अन्यत्र पठाइएको छ।

विकट भौगोलिक अवस्थाका कारण शव संकलन गरी दुर्घटनास्थल नजिकै राखिएको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन हेलिकप्टर प्रयोग गर्ने तयारी समेत गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।