जनकपुरधाम । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ‘अस्पताल विकास समिति कर्मचारी युनियन, ट्रेड युनियन संघ, प्रादेशिक अस्पताल इकाई समिति, जनकपुरधाम’को नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ । युनियनले विधानअनुसार निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गर्दै नयाँ कार्यकालका लागि कार्यसमिति गठन गरेको हो ।
नयाँ कार्यसमितिको अध्यक्षमा डा.अनिल कुमार ठाकुर, उपाध्यक्षमा डा. राजेश कुमार शाह, सचिवमा अजित कुमार तिवारी, सह–सचिवमा ई. पवन कुमार महतो र कोषाध्यक्षमा किरण यादव रहेका छन् ।
यसैगरी, सदस्यहरू डा. रमेश यादव, डा. कुन्दन मिश्र, रुबी साह, विभा कर्ण, पुनम ठाकुर, कौसिल्या तिमिसिना, विना साह, अशोक कुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर चयन भएका छन् । त्यस्तै, सल्लाहकार समितिमा पूर्व अध्यक्ष डा. रबिन्द्र कुमार सिंह र कानूनी सल्लाहकार श्री एम. के. झा रहने निर्णय गरिएको छ ।
यसैगरी, निजामती कर्मचारी बाहेक मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीलाई बिधान अनुसार सदस्यता शुल्क लिएर सदस्यता वितरण गर्ने निर्णय समेत सर्वसम्मतिले गरिएको छ। कर्मचारीहरुको हक–अधिकार र कर्तव्यबारे बैठकले आगामी दिनमा युनियनले कर्मचारीहरुको हक, अधिकार र कर्तव्यलाई अझ प्रभावकारी बनाउन विशेष ध्यान दिने प्रतिबद्धता जनाएको छ ।
कर्मचारीलाई सुरक्षित, सम्मानजनक र भेदभावमुक्त वातावरणमा काम गर्ने अधिकार सुनिश्चित गर्ने, तलब, भत्ता, सुविधा तथा पेशागत हकहितका विषयमा प्रबन्धकीय निकायसँग निरन्तर वार्ता–संवाद गर्ने, सेवा अवधिभर तालिम, प्राविधिक दक्षता र कार्यक्षमता अभिवृद्धिमा जोड दिने नयाँ कार्यसमितिले जनाएको छ ।
त्यस्तै, कर्मचारीले आफ्नो कर्तव्य पालनामा इमानदारी, समयपालन र सेवाप्रति उत्तरदायित्वका साथ खटिनुपर्ने, बिरामी तथा सेवाग्राहीलाई गुणस्तरीय र मानवतापूर्ण सेवा दिनु प्रत्येक कर्मचारीको पहिलो कर्तव्य हुने, जस्ता आधारभूत बुँदामा कार्यसमितिले ऐक्यबद्धता जनाउँदै सर्वसम्मतिले पारित गरेको हो ।