महानगरले जडान गरेका सडकबत्ती पाँचवर्ष नपुग्दै बिग्रीयो, नयाँ बत्ती फेरेर पुराना लिलामीमा !

पाँचवर्ष नपुग्दै लिलामी

अस्मिता खड्का  

काठमाडौं । काठमाडौ महानगरपालिकाले आफ्ना वडाभित्र जडान गरेका स्ट्रिट (सडक) बत्ती पाँच वर्ष नपुग्दै फेर्न थालेको छ । पुराना स्ट्रिट बत्ती बल्न छाडेपनि महानगरले नयाँ बत्ती जडान गर्न लागेको हो ।

पुराना बत्ती काम नलाग्ने भएकोले नयाँ बत्ती जडान गर्नुपरेको वडा न ३० का वडाध्यक्ष दलबहादुर कार्कीले बताए । ‘पाँच वर्ष अघि फेरेको बत्ती यतिबेला काम नलाग्ने अवस्थामा भए’ उनले भने, ‘पुराना बत्ती बल्नै छोडे । त्यसैले नयाँ बत्ती फेर्नुपरेको हो । नयाँ सडक बत्ती पुरानोभन्दा दीगो र गुणस्तरिय पनि छन् । नयाँ बत्ती चाहि विद्युतिय बत्ती हुन् ।’ नयाँ सडक बत्ती जडान गर्दा रात्रीकालिन समयमा आवश्यक सुरक्षामा सहज भएको उनको भनाई छ ।

हाल वडा न ३० ले आफ्नै लगानीमा पुराना स्ट्रिट बत्ती फेरेर नयाँ बत्ती जडान गरेको छ । आफ्नो क्षेत्राधिकारभित्रका विभिन्न गल्ली र मुख्य सडकहरुमा करिब ६ सय थान नयाँ सडक बत्ती जडान गरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयकाअनुसार मैतिदेवी, डिल्लीबजार, कालोपुल भगवती सडक लगायत, महानगरको भित्री सडकहरुमा गरी विभिन्न स्थानमा नयाँ सडक बत्ती जडान गरिएका छन् ।
वडा कार्यालयले आफ्नै लगानीमा नयाँ सडक बत्ती जडान गरेको हो । नयाँ सडक बत्ती जडानको लागि करिब २५ लाख खर्च भएको वडा कार्यालयले जनाएको छ । ‘हामीले वडामा बत्ती जडानको लागि महानगरसँग बजेट माग गरेका थियौ’ वडाध्यक्ष कार्कीले भने, ‘मागबमोजिम बजेट स्वीकृत भयो । त्यहि बजेटमा नयाँ बत्ती जडान गर्यौं ।’

पुराना बत्तीहरु लिलामीमा
नयाँ सडक बत्ती जडान गर्ने क्रममा झिकेका पुराना बत्तीहरु भने वडाले संकलन गरेर ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा थुपारेको छ । संकलित पुराना स्ट्रिट बत्ती भने महानगरले लिलामीमा बिक्रि गर्ने भएको छ ।

आफ्नो कार्यालयमा थुपारिएका बत्तीहरु लिलामीको लागि पठाइने वडाध्यक्ष कार्कीले बताए । ‘कार्यालयमा थन्काइएको ति सामानहरु हामीले महानगरमै पठाउँछौ’ उनले भने, ‘महानगरले ति बत्तीको लेखाजोखा गरेर लिलामीको लागि पठाउँछ ।’

काठमाडौं महानगरले शहर सुन्दर बनाउन मुख्य तथा भित्री सडकहरुमा करोडौको सौर्य बत्तीसमेत जडान गरेको थियो । मर्मत तथा व्यवस्थापन अभावमा ति बत्तीहरु बल्न छोडेपछि महानगर स्वयमले पुन सडक झिलिमिली पार्न विद्युतिय बत्ती जडानको अभियान निरन्तर अघि बढाइरहेको छ ।