‘बर्दिया राष्ट्रिय निकुन्ज’ पर्यटकका लागि महत्वपूर्ण गन्तब्य हो : महिला पर्यटन व्यवशायी सञ्जाल

- प्रियंका दुतराज  

काठमाडौँ । महिला पर्यटन व्यवशायी सञ्जालले ‘गन्तव्य बर्दिया अध्ययन अवलोकन भ्रमण’ सम्पन्न गरेको छ । बर्दिया राष्ट्रिय निकुन्जको प्रर्वद्धन र महिला सशक्तिकरण गर्ने उद्देश्यले यही बैशाख १० गतेदेखि १३ गतेसम्म भ्रमण सम्पन्न गरिएको ‘महिला पर्यटन व्यवशायी सञ्जाल’की अध्यक्ष निर्मला धमलाले जानकारी दिइन् ।

सञ्जालकी अध्यक्ष धमलाले बर्दिया घुम्नै पर्ने स्थान मध्ये पहिलो र सबैभन्दा महत्वपूर्ण गन्तब्य भएको बताइन् । उनले भनिन्, ‘बर्दियाको बारेमा पहिले पनि सुनेका थियौँ । त्यहाँ पुगेपछि अझै धेरै कुरा थाहा भयो ।  बर्दिया राष्ट्रिय निकुन्ज साँच्चिकै रमणीय रहेछ । घुम्नका लागि महत्वपूर्ण गन्तब्य रहेछ ।’

‘बर्दिया राष्ट्रिय निकुन्ज’ वरपर थुप्रै सुबिधासम्पन्न होटलहरु खुलेका भएता पनि प्रचारप्रसारको अभावमा पर्यटकहरु नआउँदा पर्यटन तथा होटल ब्यवशायीहरु समस्यामा रहेको अध्यक्ष धमलाको भनाई छ ।

पर्यटन ब्यवशायीहरुको टोली नै त्यहाँ पुगेर अध्ययन गरेपछि पर्यटकलाई त्यस क्षेत्रका बारेमा जानकारी गराउन र पर्यटनका प्याकेजहरु अन्य पर्यटकलाई बिक्री गर्न सफल हुनेमा उनले बिश्वास ब्यक्त गरिन् ।

‘अध्ययन भ्रमण निकै महत्वपूर्ण र फलदायी भएको छ । बर्दियाले समग्र पर्यटनको प्रतिनिधित्व गर्छ भन्ने थाहा भयो । हामीले त्यहाँका महिला पर्याटन ब्यवशायीलाई पनि भेट्यौँ । उहाँहरुसंग अन्तरकृया पनि गर्यौँ । अब त्यस क्षेत्रको पर्यटनको मार्केटिङ्गमा हामी लाग्छौँ ।’ उनले भनिन्, ‘जंगली हात्ती, बाघ, मृग र सयौँ जंगली जनाबर देख्न बर्दिया नै जानु पर्ने रहेछ ।’

सञ्जालकी उपाध्यक्ष जया बरालले बर्दियास्थित केही होमस्टे अवलोकन गरेको बताइन् । भ्रमणका क्रममा महिलाहरुद्वारा संचलित होमस्टेमा पुगेर त्यहाँको अवस्थाको बारेमा जानकारी लिनुका साथै ब्यवशायी महिलाहरुलाई प्रशिक्षण समेत दिएको उनको भनाई छ ।

‘हामी बर्दियाको डल्ला गाउँमा पुग्यौँ । त्यहाँ थारु समुदायका महिलाहरुले ‘डल्ला’ होमस्टे संचालन गर्नु भएको रहेछ । हामीले उहाँहरुलाई होमस्टेको समग्र ब्यवस्थापनका बारेमा प्रशिक्षण दियौँ । तर त्यो होमस्टे पनि प्रचार प्रसारको अभावमा पर्यटकको पखाईमा रहेछ,’  उनले भनिन् ।

भ्रमणका क्रममा जयनगरस्थित थारु समुदायका महिलाहरुले संचालन गरेको हस्तकलामा आधारित उद्योग समेत अवलोकन गरेको उनले बताईन् । उनले भनिन्, ‘उहाँहरु यस्तै सानो ब्यवशायबाट आत्मनिर्भर हुन खोजिरहनु भएको रहेछ । यो कुराले हामी निकै खुसी भयौँ । हमीलाई भेट्दा उहाँहरु पनि खुसी हुनु भयो । यो क्षेत्रको बारेमा प्रचार गरिदिनु पर्यो, पर्यटक पठाइदिनु पर्यो, भनेर उहाँहरुले हामीलाई आग्रग गर्नु भएको छ ।’

महिला पर्यटन ब्यवशायीका गुनासा र त्यहाँको पर्यटनको संभावनालाई सम्वन्धित निकायसम्म पुर्याउन आफुहरुले सहयोगी भुमिका खेल्ने उनको भनाई छ ।

बर्दिया भारतीय सिमाबाट नजिक पर्ने भएकाले भारतीय पर्यटकलाई आकर्षित गर्न सके मात्रै पनि त्यहाँको पर्यटन ब्यवशायले फड्को मार्न सक्ने सञ्जालकी महासचिव सर्मिला काफ्लेको धारणा छ । भन्छिन्, ‘बर्दियाबाट एक घण्टाको दुरीमा कर्णाली नदी पर्ने रहेछ । सयौँ प्रजातीका चराचुरुङी, जनाबर, हरियाली, खोला-नाला सबै एकै ठाउँमा भेट्न सकिने हुँदा पर्यटकका लागि यो भन्दा उत्कृष्ट गन्तव्यस्थान अरु हुन सक्दैन ।’

बर्दियामा पर्यटनको अथाह संभावना हुँदा-हुँदै पनि राज्यको ध्यान नपुग्दा आशा गरे अनुरुप पर्यटनको बिकास हुन नसकेको सञ्जालकी कोषध्यक्ष अनुपा अधिकारी बताउँछिन् ।

‘त्यस क्षेत्रमा पर्यटनको राम्रो संभावना छ । पर्यटकको सुबिधालाई ध्यानमा राखेर सडक बिस्तार र अन्य भौतिक ब्यवस्थान हुन सके पर्यटनका प्याकेजहरुका बारेमा पर्यटकलाई बुझाउन सहज हुन्थ्यो ।’ उनी भन्छिन्, ‘बर्दिया प्राकृतिक रुपमा सम्पन्न भएपनि यसको प्रवर्द्धनमा राज्यको ध्यान पुगेको छैन । यसतर्फ राज्य जिम्मेवार बन्नु पर्छ ।’

भौतिक संरचना निर्माणमा प्रदेश सरकार र केन्द्रिय सरकारले समेत जोड दिनु पर्ने उनको धारणा छ ।

महिला पर्यटन ब्यवशायी सञ्जालकी सदस्य सुस्मा तामाङले आफुहरुको उपस्थितिले बर्दियास्थित महिला पर्यटन ब्यवशायीहरु उत्साहित भएको उनी बताउँछिन् । ‘हामी त्यहाँ पुगेपछि उहाँहरु निकै खुसी हुनु भयो । आफ्नो पर्यटन ब्यवशाय फस्टाउने भयो, लगानी गर्ने वाताबरण बन्ने भयो भनेर पनि उहाँहरु उत्साहित हुनु भएको छ,’ उनले भनिन् ।

महिला पर्यटन ब्यवशायीका समस्यालाई बुझेर राज्यले पनि यस क्षेत्रमा लगानी गर्नु पर्ने उनी बताउँछिन् ।

बर्दियास्थित डल्ला होमस्टे संचालक समितिका अध्यक्ष पसुराम चौधरीले पर्यटकको अभावमा आफुहरुको होमस्टे संकटग्रस्त अवस्थामा पुगेको बताए । महिला पर्यटन ब्यवशायीहरुको आगमनले आफुहरु उत्साहित भएको भन्दै उनले पर्यटनका माध्यमबाट घरमै रोजगारीको आधार सिर्जना हुनेमा बिश्वास ब्यक्त गरे ।

नेपाल पर्यटन बोर्डको सहयोगमा गरिएको उक्त भ्रमणमा १८ जना महिला पर्यटन ब्यवशायीहरु सहभागी थिए ।