रामेछापमा निर्वाचन कर्मचारी सवार गाडी भीरबाट खस्यो, उद्धार कार्य जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मी सवार गाडी भीरबाट खसेको छ। रामेछाप नगरपालिका–२, सिरुबारी क्षेत्रमा आज दिउँसो ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल भीरमा खसेको हो ।

गाडीमा निर्वाचन सम्बन्धी कर्मचारी तथा सुरक्षाकर्मी सवार रहेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटनामा कति जना सवार थिए र घाइतेको अवस्था कस्तो छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली, स्थानीय बासिन्दा तथा सुरक्षाकर्मीहरू उद्धार कार्यमा खटिएका छन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजन तिमल्सिनाले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको र घाइतेहरूको उद्धार तथा उपचारलाई प्राथमिकता दिइएको जानकारी दिए।

दुर्घटनाको कारण खुल्न सकेको छैन। सडकको अवस्था, भौगोलिक कठिनाइ वा सवारीको प्राविधिक समस्या कारण हुनसक्ने अनुमान गरिएको छ ।

 

सिफारिस