काठमाडौँ । स्याङ्जाको बिकट पहाडी बस्तीमा कालीगण्डकीको गर्जनसँगै हुर्किएको एउटा संघर्षशील नाम हो- पदमबहादुर विश्वकर्मा । कालीगण्डकी गाउँपालिका-४, वीर्घाको सामान्य दलित परिवारमा जन्मिएका उनी बाल्यकालदेखि नै अभाव, विभेद र असमानतासँग जुध्दै अघि बढे। तर ती बाधाहरूका बीच उनी आफ्नो सपनालाई साकार पार्न संघर्ष गरिरहे । संघर्षले उनलाई उनलाई अझ दृढ, सचेत र प्रतिबद्ध बनायो।
यतिबेला उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन्। २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई उनी शक्ति परीक्षण मात्र नभई ‘स्याङ्जाको आवाज संसद्मा पुर्याउने अवसर’का रूपमा हेर्छन्। ग्रामीण भेगका समस्या, युवा रोजगारी, गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा, पूर्वाधार विकास र सामाजिक न्याय उनका प्रमुख एजेन्डा हुन्।
स्याङ्जा-२ मा उनले कांग्रेसका भागवतप्रकाश मल्ल, एमालेका खिमबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका झविलाल डुम्रेसँग प्रतिस्पर्धा गर्दैछन्। आन्दोलनबाट निर्माण भएको छवि, युवा ऊर्जा, शैक्षिक क्षमता र पारदर्शी जीवनशैली उनको जीतका बलियो आधार हुन्।
सरल जीवनशैली, सहज जनसम्पर्क र विवादरहित सार्वजनिक छविका कारण उनी स्याङ्जा-२ मा इमान्दार राजनीतिक व्यक्तित्वका रूपमा परिचित छन् । उनको जीवन सिमान्तकृत समुदायको सम्मान, अधिकार र अवसरका लागि समर्पित रहँदै आएको छ।
उनी उच्च शैक्षिक, राजनीतिक र बैचारिक स्तरका नेताका रुपमा गनिन्छन् । त्यसो त, शिक्षा उनका लागि केवल डिग्री हासिल गर्ने माध्यम थिएन, चेतनाको ढोका थियो। वीरघास्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका उनले पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसबाट आई.ए.गरि काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसबाट स्नातक तह अध्ययन गरेका थिए ।
उनले राजनीतिशास्त्रमा प्रथम श्रेणीसहित स्नातकोत्तर उपाधि त्रिभुवन विश्वविद्यालयबाट हासिल गर्दै उनले वैचारिक स्पष्टता र विश्लेषण क्षमतालाई थप परिष्कृत बनाए।
साथै, नेपाल ल क्याम्पसमा बी.ए. (एल.एल.बी.) अध्ययन गर्दै कानुनी चेतनाको दायरालाई समेत फराकिलो बनाए । शिक्षाले उनलाई आन्दोलनको वैचारिक आधार र संगठन निर्माणको बौद्धिक शक्ति प्रदान गर्यो।
यद्यपी, उनको राजनीतिक यात्रा २०५० को दशकमा सुरु भएको थियो। २०५२ सालदेखि तत्कालिन नेकपा माओवादीले सुरु गरेको जनयुद्धलाई समर्थन गर्दै उनी नेपाल स्वतन्त्र दलित विद्यार्थी संगठनमा आबद्ध भएका थिए । २०५६ मा केन्द्रीय सदस्य र २०६० पछि संगठनको संयोजकको जिम्मेवारी सम्हाल्दै उनले दलित विद्यार्थी आन्दोलनलाई सशक्त बनाउने प्रयास गरे।
त्यसपछि नेपाल दलित मुक्ति मोर्चामा सक्रिय भई २०६३ मा काठमाडौँ जिल्ला सचिव बने। उनी २०७५ सालमा केन्द्रीय कार्यालय सचिव हुँदै हाल सोही संगठनको केन्द्रीय उपाध्यक्ष तथा प्रचार-प्रकाशन विभाग प्रमुखका रूपमा क्रियाशील छन्।
२०५६ सालमा उनले नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को संगठित सदस्यता लिएका थिए । विभिन्न जिल्ला र विशेष समितिहरूमा सक्रिय भूमिका निर्वाह गर्दै २०७९ मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य बने। हाल उनी सम्पर्क समन्वय प्रदेश कमिटीको सचिवालय सदस्यका रूपमा कार्यरत छन्।
जनयुद्ध र जनआन्दोलनका क्रममा पाँच पटकसम्म हिरासत भोगेका उनको संघर्षशील चरित्र झनै मजबुत बन्दै गयो ।
उनी केवल राजनीतिक अभियन्ता मात्र होइनन्, विचारका सर्जक पनि हुन् । २०७५ सालदेखि प्रकाशित ‘दलित सन्देश’ मासिकमा कार्यकारी सम्पादक हुँदै सम्पादक-प्रकाशकका रूपमा ५१ भन्दा बढी अंक प्रकाशनमा उनले नेतृत्व गरेका छन्।
‘दलित मुक्ति’ मुखपत्र, ‘महान जनयुद्ध र दलित आन्दोलन’ र ‘शहीद गाथा’ भाग-१) जस्ता कृतिहरूको सम्पादनमा उनको सक्रिय भूमिका छ।
जनयुद्धकालमै काठमाडौँबाट प्रकाशित ‘नेपाली मंच’ मासिकमा सह-सम्पादकका रूपमा कार्य गर्दै उनले सामाजिक न्याय र समावेशिताका सवाललाई कलममार्फत उठाए। हाल ‘मेचीकाली आवाज’ चौमासिकका प्रधान सम्पादकका रूपमा पनि सक्रिय छन्।
२०७६ कात्तिकदेखि २०७७ फागुनसम्म उनले मधेश प्रदेशका तत्कालीन प्रदेश प्रमुख तिलक परियारका प्रमुख स्वकीय सचिव (सह-सचिव सरह) का रूपमा जनकपुरमा जिम्मेवारी सम्हाले। त्यस अनुभवले उनलाई प्रशासनिक संरचना, नीति-निर्माण प्रक्रिया र शासन व्यवस्थाको व्यावहारिक पाटो बुझ्ने अवसर प्रदान गर्यो ।
बिश्वकर्माको संसदीय यात्रा सामाजिक न्याय र समावेशिताको दीर्घकालिन संघर्षको निरन्तरता हो।