धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश प्रसाद धमलाको पक्षमा कांग्रेसले मंगलबार मोटरसाइकल र्याली गरेको छ । आगामी फागुन २१ गते सम्पन्न हुँदै गरेको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फका उम्मेदवार रहेका धमला सुधारिएको कांग्रेस २.० को उम्मेदवार हुन् । तर, सुधारिएको भनिएको कांग्रेसको आचारण व्यवहार र रवाफ पुरानै देखिएको छ । गुण्डागर्दी, हप्ता असुली र ज्यानमार्ने मुद्दाका खुंखार अभियुक्त गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधेलाई दायाँ तर्फ राखेर धमलाले मंगलबार भव्य र्याली गरेका छन् । उनले आफू चढेको करोड भन्दा बढि मुल्य पर्ने टोयोटा हाइलक्सको दायाँ तर्फ गुण्डा नाइके भण्डारीलाई राखेर र्याली गरेका हुन् ।

उनको बायाँ तर्फ भने सादा जीवनका आदर्श समेत रहेका पूर्वकृषि मन्त्री रामनाथ अधिकारीलाई राखिएको थियो । तर, अधिकारीको आदर्शलाई धुलिसात पार्दै धर्मसन्तानको नाममा बालबालीकाको अवैध तस्करी, दाताको लाखौँ डलर हिनामिनामा मुछिएका धमलालाई सुधारिएको कांग्रेस २.० को उम्मेदवार बनाइएको थियो । मंगलबार धादिङवेशीमा गुण्डा नाइके राधेलाई सँगै लिएर उनको समुहका सम्पूर्णलाई निशुल्क तेल दिएर र्यालीमा बोलाइएको पाइएको छ ।

निलकण्ठ नगर समितिको तर्फबाट र्यालीका उपस्थित भएका अधिकांश राधे समुहका सदस्यहरुलाई निशुल्क तेल वितरण गरिएको कुपन समेत दियोपोस्टलाई प्राप्त भएको छ । ‘पुछारबजारस्थित टंक श्रेष्ठको भैरवी पेट्रोल पम्पबाट ५ सय रुपैयाँ बराबरको तेल निशुल्क वितरण गरेको थियो,’ स्रोतले भन्यो,‘मान्छे देखाउनका लागि पनि तेल दिने भनेर बोलाइएको थियो ।’

पछिल्लो समय धादिङलाई आधार बनाएर गुण्डागर्दी र अपराधमा सक्रिय राधेलाई नेपाली कांग्रेसले संरक्षण गर्दै आएको छ । उनीसहित उनको समुहका ७ सदस्य विरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०७८ चैत्रमा ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको थियो । पीडित गंगा श्रेष्ठले दिएको जाहेरीको राधे समुहका केही सदस्य पक्राउ समेत परेका थिए । तर, उनीभने कांग्रेसकै संरक्षणमा फरार भएका थिए । जिल्ला अदालतमा २५ हजार धरौटीमा छुटेका उनलाई जिल्ला अदालत धादिङले कुटपीट मुद्दा लगाउन अन्तिम आदेश समेत दिएको थियो ।

विभिन्न अपराधमा राधेलाई प्रहरीले पटक पटक पक्राउ गर्दै आएको छ । यो समुहको त्रास देखाएर हाल सुधारिएको कांग्रेसका उम्मेदवार धमलाले धम्की समेत दिने गरेका छन् । स्थानिय राम तामाङले केहीदिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सडकमा भेटेको भिडियोबाट आक्रोशित भएका धमलाले तामाङलाई फोनै गरेर आफूलाई ठीक नलागेको भन्दै धम्की दिएका थिए । धम्कीको प्रतिवाद गर्दै तामाङले तपाईंको बालबालीका बेचविखनको समाचार आफूले सेयर नगरेको बताएपछि धमलाले भेटेरै कुरा गरौँ न भन्दै भेट्ने प्रस्ताव गरेका थिए ।