धादिङ । नेपाली कांग्रेस धादिङ क्षेत्र नम्बर २ का उम्मेदवार रमेश प्रसाद धमलाको विषयमा दियोपोस्ट डटकममा भिडियो रिपोर्ट प्रशारित भएपछि सो समुहले पीडितको घरमै गएर दबाव दिएको खुलेको छ ।
धादिङ निलकण्ठ नगरपालिका ९ की शोभा अर्यालको घरमा पुगेर धमलाको समुहले धमला विरुद्ध नबोल्न दबाव दिएको स्रोतले बताएको छ । पीडितले २०७७ माघमा दिएको भिडियो अन्तर्वार्तालाई हालै तयार भएको समाचार मूलक भिडियो रिपोर्टमा प्रशारित भएपनि धमला समुहले पीडितलाई दबाव दिएको हो । ‘मलाई सोधेर भिडियो प्रशारण गरिएको हो भनेर सोध्न आएका थिए,’ पीडित अर्यालले दियोपोस्टसँग भनिन्,‘मैले जे भएको हो त्यही भनेको छु ।’
आफन्तहरुका अनुसार धमला समुहले पीडितको भिडियो समेत खिचेर लगेका छन् । दियोपोस्ट डटकममा धमलाले दाता संस्थाले पठाएको चन्दा रकम समेत अपचलन गरेको र बालबालीकालाई अवैध रुपमा विदेशी मुलुकमा तस्करी गरेको विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरुमा प्रकाशित रिपोर्टका आधारमा समाचार प्रशारण गरेको थियो । समाचार प्रशारणका क्रममा ३ वर्षअघि प्रशारित भिडियो बयानलाई समेत प्रमाणको रुपमा प्रयोग गरिएको थियो । सोही विषयलाई लिएर पीडितलाई होस्टाइल गर्ने गतिविधिमा धमला समुह लागी परेको हो ।
समाचार प्रकाशन भएपछि धमलाका भाई राकेश धमलाले दियोपोस्टकर्मीलाई फोन गर्दै आफूहरु सम्बन्धित पीडितको घरमा जान लागेको र कानुनी बाटोबाट जाने धम्की समेत दिएका थिए । उनले यसरी धम्की दिएको केही समयमा नै राकेशको समुह शोभाको घरमा पुगेको स्थानियबासीले दियोपोस्टलाई बताएका छन् ।