काठमाडौं । नेपाल प्रहरीका ‘३३औँ’ प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेतृत्व सम्हालेको १०० दिनमै संगठनमा देखिने र महसुस गर्न सकिने परिवर्तनको आधार तयार गरेका छन् । गत कार्तिक २७ गते पदभार ग्रहण गरेका कार्कीले छोटो समयमै उत्तरदायी, पारदर्शी, प्रविधिमैत्री तथा पूर्णतः जनमुखी प्रहरी संगठन निर्माण गरेका हुन् ।
उनले नीतिगत स्पष्टता, कार्यसम्पादनमुखी व्यवस्थापन, आन्तरिक अनुशासन सुदृढीकरण तथा वैज्ञानिक अनुसन्धान पद्धतिको संस्थागत अभ्यासलाई प्राथमिकता दिएको बताएका छन् ।
नेतृत्व सम्हालेपछि अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूसँग निरन्तर समन्वय गर्दै अनुभव, ज्ञान र सुझावलाई आत्मसात गर्ने कार्यशैलीले उनलाई दूरदर्शी, समावेशी र परिपक्व नेतृत्वका रूपमा स्थापित गरेको छ। यसले संस्थागत निरन्तरता र नीतिगत सन्तुलन कायम राख्दै संगठनलाई स्थायित्व र विश्वासको दिशातर्फ उन्मुख गराएको बताइएको छ।
सुशासन, पारदर्शिता र डिजिटल रूपान्तरणमा जोड:
कार्कीको १०० दिने अवधिमा सुशासन, आन्तरिक निगरानी प्रणालीको प्रभावकारिता, सेवा प्रवाहमा पारदर्शिता तथा नागरिकमैत्री व्यवहारलाई उच्च प्राथमिकतामा राखिएको छ। ‘कार्यसम्पादन मूल्यांकन मार्गदर्शन’ कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालयहरूको मासिक कार्यसम्पादन मापन प्रणाली सुरु गरिएको छ। साथै, तल्लो दर्जाका प्रहरी कर्मचारीका लागि ‘आकस्मिक सहुलियत कर्जा’ अनलाइन आवेदन प्रणालीमार्फत सञ्चालनमा ल्याइएको छ।
राशन स्केलमा देखिएको असमानता हटाउँदै फागुन १ गतेदेखि लागू हुने गरी थप तीन प्रकारका सामग्री समावेश गरिएको छ। सरुवा प्रणालीलाई व्यवस्थित गर्दै दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिह्न प्रदान गर्ने नीति लागू गरिएको छ।
प्रहरी प्रधान कार्यालयमा अत्याधुनिक सूचना तथा विश्लेषण केन्द्र स्थापना, देशभर ४५६ वटा सीसीटीभी क्यामेरा जडान, हराएका सवारी साधन र व्यक्तिहरूको विवरण अनलाइन अभिलेखीकरण तथा खोज प्रणाली सुधारजस्ता कदमले संगठनलाई प्रविधिमैत्री संरचनातर्फ अग्रसर बनाएको छ।
अपराध नियन्त्रणमा उल्लेखनीय उपलब्धि:
१०० दिनको अवधिमा जघन्य तथा गम्भीर अपराधमा करिब शतप्रतिशत सफल अनुसन्धान भएको दाबी गरिएको छ। कर्तव्य ज्यानका १२३ घटनामा १८८ अभियुक्त पक्राउ परेका छन् भने जबरजस्ती करणीसम्बन्धी ४७५ घटनामध्ये ४४५ अभियुक्त कानुनी दायरामा ल्याइएको उल्लेख छ।
सय दिनको अवधिमा फैसला कार्यान्वयनअन्तर्गत १९ सय ६० वर्ष कैद तथा ३८ करोड ३६ लाख रुपैँया भन्दा बढी जरिवाना असुलउपर गर्न बाँकी रहेका ५ हजार७८१ फरार प्रतिवादी पक्राउ गरिएको बताएका छन् । लागूऔषध मुद्दामा १ हजार ५४८ मुद्दा दर्ता गरी १७ हजार १५३ केजी गाँजा, ४२० केजी चरेस, १० केजी हेरोइन, ५ केजी अफिम, २१ ग्राम कोकिनसहित विभिन्न प्रतिबन्धित पदार्थ बरामद गरिएको छ। साथै २५५ नाल अवैध हतियार बरामद गरिएको उनले बताएका छन् र ।
राजस्व चुहावट नियन्त्रणतर्फ करिब ५९ करोड ९५ लाख रुपैयाँ बराबरको सुन, चाँदी, अवैध मुद्रा, काठ, हुण्डी तथा अन्य अवैध सामग्री नियन्त्रणमा लिइएको छ। विभिन्न मुद्दाका प्रतिवादीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउने कार्यसमेत सम्पन्न गरिएको छ।
समुदाय-प्रहरी साझेदारी सुदृढ:
सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत २७,५२८ कार्यक्रम सञ्चालन गरी १२ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन्। उपत्यकाका तीन जिल्लामा “हाम्रो प्रहरी” कार्यक्रम सम्पन्न गरिएको छ। ४,००० भन्दा बढी हराएका व्यक्तिहरूलाई परिवारको जिम्मा लगाइएको उल्लेख छ ।
सातदोबाटो, बौद्ध, कोटेश्वर लगायतका स्थानमा ७ प्रहरी युनिट तथा सेवा केन्द्र भवन उद्घाटन, १२ प्रहरी कार्यालयका लागि जग्गा प्राप्ति, २४० सवारी साधन वितरणजस्ता पूर्वाधार विस्तारका काम सम्पन्न भएका छन्। सातै प्रदेशमा सुरक्षा गोष्ठी आयोजना गरी भावी रणनीतिमा स्पष्ट मार्गचित्र तयार गरिएको छ।
सामाजिक उत्तरदायित्वमा सक्रियता:
अमर तथा शहीद प्रहरी परिवारसँग भेटघाट र श्रद्धाञ्जली अर्पणका साथै विपन्न समुदायमा न्यानो कपडा तथा खाद्यान्न वितरण गरिएको छ। मोरङ र बाराका विपन्न बस्तीमा राहत वितरण, वीरगञ्जस्थित मानवसेवा आश्रम तथा कपिलवस्तुको गुरुकुलमा खाद्यान्न सहयोग प्रदान गरिएको छ।
साथै, गुल्मी जिल्लाको मालिका गाउँपालिका-७ स्थित देविस्थान माध्यमिक विद्यालयमा स्वर्गीय बुवा कृष्णबहादुर कार्कीको स्मृतिमा रु. ५ लाख बराबरको अक्षयकोष स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति कोष स्थापना गरिएको छ।
कार्तिक २७ देखि फागुन ८ सम्मका १०० दिन दानबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीले अनुभव गरेको संगठनात्मक सुधार, सुशासन र परिणाममुखी कार्यसम्पादनको ऐतिहासिक अध्यायका रूपमा स्थापित भएका छन्।
अनुशासन, पारदर्शिता र जिम्मेवारीपूर्ण व्यवस्थापनलाई मजबुत बनाउँदै अपराध नियन्त्रणमा कठोरता र सेवा प्रवाहमा संवेदनशीलताको सन्तुलन कायम गर्ने प्रयासले संगठनको व्यावसायिकता र जनविश्वास दुवै अभिवृद्धि गरेको छ। यी ‘सुनौलो १०० दिन’ भविष्यको दिगो, प्रविधिमैत्री र जनमुखी प्रहरी संगठन निर्माणतर्फको बलियो आधारशिला बनेका छन्।