निर्वाचनको ‘मौन अवधि’ आज राति १२ बजेदेखि सुरु हुँदै, भोट माग्न र चुनावी प्रचार गर्न नपाइने

दियोपोस्ट संवाददाता  

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताअनुसार मतदान सम्पन्न नभएसम्म निर्वाचन सम्वन्धि कुनै पनि प्रकारको प्रचार–प्रसार गतिविधि गर्न पाइने छैन।

आयोगका अनुसार मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा तिनका प्रतिनिधि र समर्थकले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन्। सभा–जुलुस, कोणसभा, घरदैलो अभियान, पर्चा-पम्प्लेट वितरण जस्ता प्रचारका कार्यक्रम पूर्ण रूपमा निषेध गरिएको छ।

त्यस्तै भोज–भतेर, भेला तथा हुलहुज्जत जस्ता मत प्रभावित गर्ने गतिविधि गर्नसमेत रोक लगाइएको छ। सामाजिक सञ्जालमार्फत हुने प्रचारप्रसारमा पनि कडाइ गरिने आयोगले जनाएको छ। फेसबुक, टिकटक, युट्युब लगायतका माध्यम प्रयोग गरी मत माग्ने वा प्रचार सामग्री पोस्ट गर्न पाइने छैन।

मौन अवधिमा कुनै पनि तरिकाबाट मतदातालाई प्रभाव पार्ने प्रयास गर्न नपाइने स्पष्ट पारिएको छ। मतदान प्रक्रियामा बाधा पुर्‍याउने, मतदातालाई त्रास सिर्जना गर्ने वा मतदान केन्द्र वरपर अवाञ्छित गतिविधि गर्नेलाई कानुनी कारबाही गरिने आयोगको चेतावनी छ।

आयोगले निर्वाचन प्रचारका लागि राखिएका ब्यानर, पोस्टर, फ्लेक्स, पम्प्लेटलगायत सबै प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। मतदान केन्द्र आसपासमा यस्ता सामग्री राख्न वा प्रदर्शन गर्न पाइने छैन।

यता, मौन अवधिमा मतदाता भने तोकिएको मितिमा शान्तिपूर्ण रूपमा मतदान केन्द्रमा गई आफ्नो मताधिकार प्रयोग गर्न सक्नेछन्। मतदान केन्द्रमा शान्ति र सुव्यवस्था कायम राख्न सबै पक्षलाई सहयोग गर्न आयोगले आग्रह गरेको छ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन मौन अवधिको पूर्ण पालना गर्न आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा मतदातासमक्ष अनुरोध गरेको छ।

सिफारिस