फागुन २० गते रातिदेखि २१ गते साँझसम्म सवारी साधनमा रोक

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आयोगले फागुन २० गते राति १२ बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय गरिएको आयोगले जनाएको छ।

आयोगका अनुसार तोकिएको अवधिमा सार्वजनिक तथा निजी दुवै प्रकारका साधारण सवारी साधन सञ्चालन गर्न पाइने छैन। यात्रुवाहक बस, माइक्रोबस, ट्याक्सी, निजी कार, मोटरसाइकल लगायतका सवारी साधन सञ्चालनमा पूर्ण प्रतिबन्ध रहनेछ। यस्तै, सामान ढुवानी गर्ने साधारण सवारी साधनसमेत रोकको दायरामा पर्ने जनाइएको छ।

तर अत्यावश्यक सेवासँग सम्बन्धित सवारी साधनलाई भने सञ्चालनमा छुट दिइनेछ। एम्बुलेन्स, दमकल, शववाहन, रगत सञ्चार सेवा, विद्युत् तथा खानेपानी मर्मत सेवा, दूरसञ्चार सेवा, सरसफाइ तथा अन्य अत्यावश्यक सेवाका सवारी साधन चल्न पाउने व्यवस्था गरिएको छ। साथै, सुरक्षा निकायका सवारी साधन र निर्वाचन प्रयोजनका लागि आधिकारिक पास प्राप्त सवारीलाई पनि सञ्चालन अनुमति रहनेछ।

त्यस्तै, प्रेस पास भएका संचारकर्मीका सवारी साधनका लागि छुट्टै सवारी पास आवश्यक नपर्ने गरि ब्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । सवारी साधानको दुरुपयोग नगर्न समेत आयोगले सम्वन्धित सबैमा आग्रह गरेको छ ।

निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन नेपाल प्रहरीसहितका सुरक्षा निकायले अनुगमन तथा जाँचलाई कडाइ गर्ने तयारी गरेका छन्। बिना अनुमति सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

आयोगले विमानस्थल आवतजावत गर्ने यात्रुलाई भने टिकटको आधारमा आवश्यक सवारी प्रयोग गर्न सहजीकरण गरिने जनाएको छ।

निर्वाचनको दिन शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै सर्वसाधारणलाई तोकिएको नियमको पालना गर्न आयोगले अनुरोध गरेको छ।