काठमाडौं । ‘मेरो आफ्नै बाबुले गल्ती गरे पनि म छाड्दिनँ,’ केही समयअघि गृहमन्त्री सुधन गुरुङले दिएको अभिव्यक्ति हो यो । तर गृहमन्त्री गुरुङलाई यतिबेला आफ्नै अभिव्यक्ति भारी परेको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा प्रत्यक्ष साझेदारी रहेको प्रमाण सार्वजनिक भएपछि ‘गल्ती गर्ने कसैलाई नछाड्ने’ सार्वजनिक अभिब्यक्ति दिँदै आएका गृहमन्त्री गुरुङमाथि नैतिक प्रश्न उठ्न थालेको हो ।
के गृहमन्त्रीले आफ्नो पदको मर्यादा अनुसार नैतिक जिम्मेवारी वहन गर्छन्? अनुसन्धान निष्पक्ष हुन्छ या हुँदैन? उनले पहिले व्यक्त गरेको “कसैलाई नछाड्ने” भनाइ आफ्नै हकमा लागू हुन्छ या हुँदैन? भन्ने बहस सुरु भएको छ ।
लोकतान्त्रिक अभ्यासमा छानबिनलाई निष्पक्ष बनाउन मन्त्रीहरूले पदबाट अलग हुने परम्परा छ। यदि गुरुङले नैतिकतालाई ध्यानमा राख्ने हो भने राजीनामा दिनु पर्ने बिश्लेषकहरु बताउँछन् । तर, नेपालमा प्रायः नेताहरूले प्रेस विज्ञप्तिमार्फत आफ्नो संलग्नता अस्वीकार गर्ने र विषयलाई सामान्य बनाउन खोज्ने प्रवृत्ति देखिन्छ।
कतिपय नेताहरुले आफुमाथिको आरोपमा राजनीतिक संरक्षण खोज्ने रणनीति पनि अपनाएको देखिन्छ । तर, पदमा रहँदा छानविनमा प्रभाव पार्ने सम्भावना रहने भएकाले पदबाट अलग हुनु उपयुक्त हुने कानुनविदहरु बताउँछन् ।
गुरुङले गृहमन्त्री बन्नुअघि करिब ५० दिनको अवधिमा ५० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद गरेका थिए। त्यसपछि सार्वजनिक गरिएको सम्पत्ति विवरणमा उनले झन्डै २ करोड ७० लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख गरेका छन्। तर केही कम्पनीमा रहेको लगानी विवरण पूर्ण रूपमा नखुलाइएको आरोप समेत उनीमाथि लागेको छ।
हालै सार्वजनिक तथ्यअनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित कम्पनीमा गुरुङको प्रत्यक्ष वा अप्रत्यक्ष साझेदारी देखिएको छ। यसले गृहमन्त्रीको भूमिकामाथि हितको द्वन्द्व सम्बन्धी प्रश्न उठाएको छ, किनभने गृह मन्त्रालय मातहतका निकायहरू नै यस्ता मुद्दाको अनुसन्धानमा संलग्न रहने गर्छन्।
कानुनविद्हरूका अनुसार यस्तो अवस्थामा मन्त्री पदमा रहँदा अनुसन्धान निष्पक्ष हुन गाह्रो हुने भएकाले “पदबाट अलग भएर छानबिनमा सहयोग गर्नु” अन्तर्राष्ट्रिय अभ्यास मानिन्छ। यद्यपि नेपालमा यस्तो अभ्यास सधैं लागू नभएको उदाहरणहरू छन्।
गृहमन्त्री गुरुङले आफ्नो लगानी वैधानिक रहेको दाबी गर्दै ऋण लिएर सेयर खरिद गरेको बताएका छन्। तर उनले सम्पत्ति विवरणमा उठेका प्रश्न र विवादित व्यक्तिसँगको सम्बन्धबारे विस्तृत स्पष्टीकरण दिएका छैनन्।
विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन् भने केही सत्तारूढ नेताहरूले छानबिनपछि मात्र निष्कर्ष निकाल्नुपर्ने धारणा राखेका छन्।
गृहमन्त्री गुरुङ अहिले आफ्नै भनाइको परीक्षणमा उभिएका छन्। ‘गल्ती गर्ने कसैलाई छाड्दिनँ’ भन्ने उनको अडान अब व्यक्तिगत व्यवहारमा देखिन्छ कि देखिँदैन भन्ने सवाल उठ्न थालेको छ ।