गाइडबिना सगरमाथा आरोहणमा गएका दुई मंगोलियन आरोहि सम्पर्कबिहिन

पर्यटन

दियोपोस्ट संवाददाता  

काठमाडौं । शेर्पा गाइडविना सगरमाथा आरोहणको लागि गएका दुई जना मंगोलियन आरोहि सम्पर्कबिहिन भएका छन् ।

पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएका हुन् ।

सगरमाथा आरोहणका लागि गएका दुवैजना ८ हजार मिटरमाथि साउथ कोलबाट सम्पर्कबिहिन भएको आरोहण आयोजक कम्पनीले जनाएको छ । दुवैजना १२ गते सगरमाथा शिखर पुग्ने उदेश्यले आरोहणमा निस्केका थिए ।

उनीहरुको खोजीका लागि हाल शेर्पा गाइड परिचालन गरिएको ८के एक्सपिडिसनका लाक्पा टि शेर्पाले बताए । ‘उनीहरु सम्पर्कविहिन हुनेवित्तिकै हामीले हाम्रा शेर्पा टिमलाई परिचालन गरेका छौ’ उनले भने, ‘सम्पर्कविहिन भएको क्षेत्रमा खोजी जारी छ । तर हालसम्म सम्पर्क हुन सकेको छैन ।’

शेर्पा गाइड लिन सुझाउँदा हराएका आरोहिले अस्वीकार गरेकोसमेत उनले बताए । ‘हामीले शेर्पा गाइड लिन प्रस्ताव गरेका थियौ । तर उनीहरुले मानेनन्’ उनले भने ।
यता पर्यटन विभागले पनि हराएका मंगोलियन आरोहिको खोजी गरिने र थप अनुसन्धान गरिने जनाएको छ । ‘दुइजना आरोहि हराएको भन्ने सुचना आएको छ । उनीहरुको खोजीको लागि शेर्पाहरुलाई परिचालन गरिएको छ’ विभागका प्रवक्ता काली बहादुर भुजेलले भने, ‘तर गाइडविना गएकोबारे भने कुनैपनि जानकारी आएको छैन । यसबारे पनि अनुसन्धान हुन्छ ।’

सगरमाथा आरोहणका लागि ति मंगोलियन आरोहिले एक महिनाअघि नै पर्यटन विभागबाट अनुमती लिएका थिए । अनुमती लिएलगत्तै उनीहरु आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका थिए ।