८ के एक्सपेडिसनमार्फत सगरमाथा आरोहण गएका बेलायती र नेपाली आरोहि सम्पर्कविहिन

दियोपोस्ट संवाददाता

काठमाडौं ।  यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणमा गएका दुईजना पर्वतारोहि सम्पर्कविहिन भएका छन् । सगरमाथाको दक्षिणी शिखरनजिकै बरफबाट चिप्लिएर ४० वर्षीय बेलायती पर्वतारोहि डेनियल पल प्याटर्सन र उनका शेर्पा गाइड संखुवासभा निवासी २३ वर्षीय पासतेन्जी शेर्पा मंगलबार बिहानदेखि सम्पर्कविहिन भएका हुन् । दुवै आरोहि सगरमाथा शिखरको सफल आरोहणपछि फर्किने क्रममा दक्षिणी शिखर नजिकै ८ हजार ७५० मिटर उचाईबाट चिप्लिएर बेपत्ता भएको पर्यटन विभागले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

अनुभवी माउन्टेन गाइड परिचालन गरी उनीहरुको खोजी कार्य भइरहेको समेत विज्ञप्तीमा उल्लेख छ । दुवै आरोहि ८ के एक्सपेडिसन नामक ट्राभल एजेन्सीमार्फत सगरमाथा आरोहणको लागि गएका थिए । उनीहरु दुवैजना ८के एक्सपेडिसन नेतृत्वको १५ जना पर्वतारोहिको टोलीमा सहभागी थिए ।

यसअघि सोहि क्षेत्रबाट तिनजना पर्वतारोहिको उद्धार गरिएको थियो । यसअघि गाइडविना ८ के एक्सपेडिसन एजेन्सीमार्फत सगरमाथा आरोहणका लागि गएका दुइजना मंगोलियन आरोहि पनि सम्पर्कविहिन बनेका थिए । सम्पर्कविहिन बनेको केहि दिनपछि उनीहरुको शव फेला परेको थियो भने हालसम्म उनीहरुको शव झार्न सकिएको छैन ।

सम्बन्धित खबर