काठमाडौं । प्रहरी महानिरिक्षक नियुक्ती विरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्न पुगेका एआइजी विश्वराज पोखरेलको मुद्दा फेरी सरेको छ । उनको मुद्दामा आज पेशी तोकेर सुनुवाई हुने भनिएपनि अन्तत पेशिको प्रक्रिया नै किर्ते गरिएको पाइएपछि अर्को दिनलाई पेशी तोकिएको छ ।
अदालत संचालन सम्बन्धी नियमावली, पम्परा र अभ्यास अनुसार सर्वाजनिक विदाको दिन पेशी परे त्यसको भोलीपल्ट गएर तारिख लिनुपर्छ । तर, पोखरेलको हकमा आज नै पेशी तोकिएको थियो ।
सरकारी पक्षले आपत्ति जनाएपछि फेरी शुक्रबारलाई सुनुवाई तोकिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार पोखरेलको निवेदनका आधारमा आज सोमबार पेशी तोकिएपनि सरकार तथा प्रतिवादी उपस्थित नभएका कारण शुक्रबारलाई सारिएको छ । त्यस्तै आज सर्वोच्च अदालत परिसर पुगेका पोखरेलले आफू जागिरमा छँदा नै आफ्नो मुद्दा टुंगिनुपर्ने माग राखेका छन् । ‘आफ्नो जागिर नसकिँदै मुद्दा छिनोफानो गरिदिन उहाँको रोइकराई थियो,’ सर्वोच्चका एक अधिकारीले भने,‘अदालतले कसैको जागिर हेर्ने होइन । न्याय अन्याय हेर्ने हो । रोइकराई त हुनसक्छ तर त्यसको अर्थ यहाँ हुँदैन ।’
सरकारले पोखरेलकै ब्याची समेत रहेका एआइजी धिरज प्रताप सिंहलाई आइजीपी नियुक्त गरेपछि आफूलाई आइजीपी नियुक्त गरिपाउँ भन्दै पोखरेल सर्वोच्च अदालतमा रिट हाल्न पुगेका थिए ।