काठमाडौं । प्रहरी केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका शेखर गोल्छा फौजदारी मुद्दामा म्याद थप भएको पाइएको छ ।
नेपाल घितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनको राय सुझावको खण्डमा उल्लेख भए बमोजिम विचौलिया दिपक भट्ट र धितोपत्र दलाल व्यावसायी भृकुटी स्टक ब्रेकिङ कम्पनी प्रा.लीका कार्यकारी प्रमुखको रुपमा जिम्मेवार रहेका सन्दिप चाचानले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९६ को उपदफा (१ ) दफा ९८ बमोजिमको कसुर गरेको देखिएको सीआईबीले जनाएको छ । चाचानलाई सहयोगीको रुपमा हिमालयन रिइन्स्योरेन्स कम्पनि लि, हिमालयन क्यापसर्व लि, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनि लि, हिमालय सेक्युरिटिज बैंकर लि, एचएलआई लार्ज क्याप फण्ड, रोहित गुप्ता र शेखर गोल्छाको रकम दुरुपयोग भएको देखिएको आधारमा काठमाडौं जिल्ला अदालतबाट गोल्छालाई ७ दिनको म्याद थप गर्न माग गरिएको कागजात फेला परेको छ ।
हिमालयन रि इन्स्योरेन्सको तत्कालिन अध्यक्ष रहेका कारण गोल्छालाई हिरासतमा राखेर अनुसन्धानका लागि सीआईबीले म्याद थप माग गरेको थियो ।
सीआईबीले पूर्वगृहमन्त्री सुधन गुरुङले शेयर खरिद गरेको लिबर्टी माइक्रो इन्स्योरेन्समाथि समेत छानबीन गरिरहेको छ । गोल्छामाथि सम्पत्ति सुद्धिकरण अनुसन्धान विभागबाट पनि अनुसन्धानका लागि पत्राचार भएको उल्लेख छ । विभागले गोल्छा लगायतमाथि छानबीन गर्नका लागि गत गत फागुन २५ गते पत्राचार गरेको कागजातबाट देखिएको छ ।
धितोपत्र बजारसँग सम्बन्धित करिब चार अर्ब रुपैयाँ बराबरको शेयर अनियिमतता भएको भेटिएको थियो । नामुद विचौलिया दिपक भट्टको नेतृत्वमा शेखर गोल्छा, रोहित गुप्ता लगायतको संलग्नता खुलेको थियो । प्रतिवेदन अनुसार रमेश कर्पका मालिक रोहित गुप्ताले ५२ करोड ५० लाख बराबर रकम बक्यौता रकम तिर्न बाँकी रहेको उल्लेख छ ।
धितोपत्र बोर्डले गरेको छानबीनमा भृकुटी स्टक ब्रोकिङ कम्पनीको बैंक खातामा रकम जम्मा भएको विवरणमा रोहित गुप्ताको उल्लेखनिय संलग्नता खुलेको छ ।
गुप्ता हिमालयन रिइन्स्योरेन्स कम्पनिको संचालक समेत हुन् ।