मस्को । रुसको पूर्वी क्षेत्रमा एक यात्रुवाहक विमान दुर्घटना भएको छ । चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको विमानमा ४९ जना सवार थिए ।
दुर्घटनामा सबै यात्रुको मृत्यु भएको स्थानीय समाचार एजेन्सीहरूले जनाएका छन् । रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो ।
टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ ।
विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।
रुसका दुर्गम क्षेत्रहरू, विशेषगरी आर्कटिक र सुदूर पूर्वमा, जहाँ मौसम प्रायः अत्यन्तै खराब रहन्छ, हवाई यात्रा जोखिमपूर्ण मानिन्छ । पछिल्ला वर्षहरूमा रुसको उड्डयन सुरक्षा मापदण्डमा सुधार आए पनि दुर्गम क्षेत्रहरूमा पुराना विमानहरू दुर्घटनामा पर्ने घटनाहरू भइरहन्छन् ।
यसअघि सन् २०२१ मा पनि रुसको सुदूर पूर्वमा एउटा पुरानो एन्टोनोभ एन–२६ विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । सोही वर्षको जुलाईमा कामचाट्कामा भएको अर्को दुर्घटनामा एन्टोनोभ एन–२६ विमानमा सवार सबै २८ जनाको ज्यान गएको थियो ।