नेपाल स्वास्थ्य फुडको बदमासीः विद्यालय दिवा खाजाका नाममा पोषण ‘मापदण्ड’ विपरित भुटेको सुख्खा चिउरा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । विद्यालय दिवा खाजा कार्यक्रमअन्तर्गत विद्यार्थीलाई पौष्टिक तथा तातो खाजा उपलब्ध गराउने सरकारी उद्देश्य भए पनि लुम्बिनी प्रदेशका विभिन्न सामुदायिक विद्यालयमा प्याकेटमा बन्द गरिएका सुख्खा खाजा वितरण भइरहेको भन्दै प्रश्न उठ्न थालेको छ।

‘नेपाल स्वास्थ्य फुड इन्डस्ट्री’ नामक कम्पनीले विद्यालय खाजा कार्यक्रम लागू भएका विद्यालयहरूमा भुटेको चिउरा, तयारी खिर, खिचडी लगायतका विभिन्न प्याकेट बन्द खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ। तर यस्ता खाजाले बालबालिकाको पोषण आवश्यकता पूरा गर्न नसक्ने भन्दै पछिल्लो समय पोषणविद्, अभिभावक तथा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन्।

पोषणविद्हरूका अनुसार लामो समयसम्म प्याकेटमा बन्द गरिएको भुटेको चिउरा वा सुख्खा खाजाले बढ्दो उमेरका बालबालिकालाई आवश्यक पर्ने ऊर्जा, प्रोटिन, भिटामिन तथा खनिज तत्त्व पर्याप्त मात्रामा उपलब्ध गराउन कठिन हुन्छ। उत्पादनपछि लामो समयसम्म भण्डारण गरिने यस्ता खाद्य सामग्रीमा गुणस्तर कायम राख्न प्रयोग गरिने रसायनले समेत बाल स्वास्थ्यमा असर पार्न सक्ने भन्दै उनीहरूले सावधानी अपनाउन सुझाव दिएका छन्।

यदि एक किलोग्राम भुटेको चिउरा करिब २० जना विद्यार्थीलाई वितरण गरियो भने एक विद्यार्थीको भागमा करिब ५० ग्राम मात्र पर्ने देखिन्छ। यस्तो परिमाणले विद्यालय जाने उमेरका बालबालिकाको दैनिक पोषण आवश्यकता पूरा गर्न नसक्ने पोषणविद्हरूको भनाइ छ।

विद्यालय दिवा खाजा कार्यक्रमको उद्देश्य केवल विद्यार्थीको पेट भर्नु नभई उनीहरूको पोषण अवस्था सुधार गर्नु, स्वास्थ्य प्रवर्द्धन गर्नु र सिकाइ क्षमतामा वृद्धि गर्नु रहेको छ। तर केवल प्याकेटमा राखिएको सुख्खा खाजा वितरण गर्दा कार्यक्रमको मूल उद्देश्य नै प्रभावित हुन सक्ने सरोकारवालाको भनाइ छ।

सरकारले विद्यालय खाजा कार्यक्रमअन्तर्गत स्थानीय उत्पादन तथा रैथाने बालीमा आधारित ताजा खाजा उपलब्ध गराउन जोड दिँदै आएको छ। तर ‘नेपाल स्वास्थ्य फुड’का प्याकेट खाजाले स्थानीय तथा रैथाने उत्पादनमा आधारित खाजालाई विस्थापित गरेको भन्दै केही अभिभावकले असन्तुष्टि जनाएका छन्।

यसअघि पनि नेपाल स्वास्थ्य फुड नामक कम्पनीले उपलब्ध गराएको खाजामा किरा भेटिएको तथा ढुसी लागेको भन्दै सुनसरीका केही विद्यालयमा विवाद उत्पन्न भएको थियो। त्यसपछि विद्यालय खाजाको गुणस्तर, उत्पादन प्रक्रिया र अनुगमन प्रणालीबारे थप प्रश्न उठ्दै आएको छ।

प्याकेटमा राखिएका खाजा प्रयोगशाला परीक्षणबिना नै बजारमा पठाइएको आरोप समेत लाग्दै आएको छ। सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन र सार्वजनिक विवरण भने आवश्यक देखिएको छ।

अभिभावकहरूले विद्यालयमा वितरण भइरहेको खाजाको गुणस्तर, परिमाण र पोषण मापदण्डको नियमित अनुगमन गर्न माग गरेका छन्। स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा सम्बन्धित निकायले सरकारी मापदण्डअनुसार बालबालिकालाई ताजा, तातो र सन्तुलित पौष्टिक खाजा उपलब्ध गराउन प्रभावकारी पहल गर्नुपर्ने आवाज बढ्दै गएको छ।

बालबालिकाको स्वास्थ्य र शिक्षासँग प्रत्यक्ष जोडिएको विद्यालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन खाजाको गुणस्तर परीक्षण, नियमित अनुगमन र स्थानीय उत्पादनमा आधारित पोषणयुक्त भोजनको सुनिश्चितता आवश्यक देखिएको छ।

सिफारिस