मधेश प्रदेशमा बजेट खर्च बढ्दो, असार अन्त्यसम्म ५६.३१ प्रतिशत कार्यान्वयन

दियोपोस्ट संवाददाता  

जनकपुरधाम। मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणमा बजेट खर्चको गति तीव्र बनाएको छ। प्रदेश सरकारले असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च गरेको तथ्यांक सार्वजनिक भएको छ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल रु. ४६ अर्ब ९८ करोड बजेटमध्ये असार २६ गतेसम्म रु.२६ अर्ब ४६ करोड खर्च भएको छ।

खर्च विवरणअनुसार चालुतर्फ विनियोजित रु. १५ अर्ब ६४ करोडमध्ये रु.९ अर्ब ४९ करोड खर्च भएको छ, जुन कुल चालु बजेटको ६०.६९ प्रतिशत हो। त्यस्तै, पूँजीगततर्फ विनियोजित रु.३१ अर्ब ३४ करोडमध्ये रु.१६ अर्ब ९७ करोड खर्च भएको छ। पूँजीगत खर्चको प्रगति ५४.१२ प्रतिशत रहेको छ।

तथ्यांकले पछिल्लो डेढ महिनामा प्रदेश सरकारको बजेट खर्च उल्लेख्य रूपमा बढेको देखाउँछ। जेठ १३ गतेसम्म प्रदेश सरकारले कुल बजेटको रु.८ अर्ब ७६ करोड अर्थात् १८.६४ प्रतिशत मात्र खर्च गरेको थियो। तर त्यसपछि खर्चको गति बढ्दै असार २६ गतेसम्म आइपुग्दा खर्च रकम रु.२६ अर्ब ४६ करोड पुगेको हो।

आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च तीव्र हुने प्रवृत्ति नेपालमा विगतदेखि नै देखिँदै आएको छ। समयमै योजना तथा कार्यक्रम कार्यान्वयन हुन नसक्दा आर्थिक वर्षको अन्त्यतिर हतारमा खर्च गर्ने अवस्थालाई ‘असारे खर्च’ का रूपमा आलोचना गरिँदै आएको छ।

यसपटक पनि प्रदेश सरकारको खर्च वृद्धिसँगै विकास निर्माणतर्फको पूँजीगत खर्च अपेक्षाकृत कम देखिएको छ। विकास आयोजनाको प्रभावकारी कार्यान्वयन, निर्माणको गुणस्तर र समयमै बजेट परिचालन गर्न प्रदेश सरकारले अझै ध्यान दिनुपर्ने सरोकारवालाहरूको धारणा छ।

आर्थिक वर्ष समाप्त हुन केही दिन मात्र बाँकी रहेकाले बाँकी बजेट कति प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ भन्ने विषयमा चासो बढेको छ। अन्तिम समयमा हुने खर्चको गुणस्तर र त्यसबाट प्राप्त हुने उपलब्धिले प्रदेश सरकारको बजेट व्यवस्थापन क्षमताको मूल्यांकन हुने देखिन्छ।