आत्मदाहका घटना बढ्दैः पछिल्लो एक सातामा तीन जनाले ज्यान गुमाए

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीका विवेक यादवको मृत्यु भएको छ। काठमाडौँस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचाररत यादवको आज राति २ बजे निधन भएको हो ।

यादवको निधनसँगै पछिल्लो एक साताभित्र आत्मदाह प्रयास गरेका तीन जनाको मृत्यु भएको छ। यसअघि काठमाडौँ बुद्धनगरका ४५ वर्षीय आश्विन राउत र मुगुका गणेश नेपालीको पनि उपचारकै क्रममा ज्यान गएको थियो। राउत र नेपालीको वीर अस्पतालमा र यादवको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको हो।

आफ्नै घरको भान्सा कोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्‍याएको थियो। उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको थियो। उनलाई सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिए पनि गत शनिबार उनको मृत्यु भएको थियो।

त्यस्तै, मुगुका गणेश नेपालीको पनि वीर अस्पतालमै उपचारका क्रममा निधन भएको थियो। यसैबीच, सर्लाहीका विवेक यादवले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए। गम्भीर अवस्थामा उनलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।

बायोलोजी विषयमा एमएस्सी गरेका यादव विगत एक वर्षदेखि मानसिक तनावमा रहेको आफन्तले बताएका छन्। उनी सर्लाहीको रामनगरस्थित एक विद्यालयमा अध्यापन गर्दै आएका थिए। विद्यालय प्रशासनले उनको स्थानमा अर्का शिक्षक नियुक्त गरेपछि उनी बेरोजगार बनेका थिए। त्यसपछि उनी लामो समयदेखि तनावमा रहेको बताइएको छ।

पछिल्लो समय देशभरका स्वास्थ्य संस्थामा जलनसम्बन्धी समस्या लिएर आउने बिरामीको संख्या उल्लेख्य रहेको स्वास्थ्य क्षेत्रको तथ्यांकले देखाएको छ। देशभरका स्वास्थ्य संस्थामा हालसम्म ३७ हजार ४३८ जना जलनका बिरामी उपचारका लागि पुगेका छन्।