प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणको नेतृत्वमा श्रेष्ठ र घिमिरे नियुक्त

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन् । मन्त्रिपरिषद्को गत असार २४ गतेको निर्णयअनुसार दुवैलाई सोमबार औपचारिक रूपमा नियुक्त गरिएको हो ।

नवनियुक्त अध्यक्षद्वय श्रेष्ठ र घिमिरेले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका छन् ।

नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भएर जिम्मेवारी सम्हाल्न आएका दुवै अध्यक्षबाट महत्वपूर्ण अपेक्षा राखिएको बताए । उनले नियामक निकायहरूले आफ्नो जिम्मेवारी प्रभावकारी, निष्पक्ष र उत्तरदायी ढङ्गले पूरा गर्नुपर्नेमा जोड दिए ।

मन्त्री तिमिल्सिनाले सिफारिस समितिले अन्य प्रतिस्पर्धीमध्ये संस्थाको हितमा न्यायपूर्ण, निष्पक्ष र परिणाममुखी रूपमा काम गर्न सक्ने विश्वासका आधारमा श्रेष्ठ र घिमिरेलाई छनोट गरेको जानकारी दिए ।

उनले प्रेस काउन्सिल नेपाल र दूरसञ्चार प्राधिकरणजस्ता नियामक संस्थाहरूले बदलिँदो सञ्चार तथा प्रविधि क्षेत्रका चुनौतीलाई सम्बोधन गर्दै आफ्नो भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।