काठमाडौंमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगु जिल्लाको सोरु गाउँपालिका-१ का २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टि गरिएको छ। मृतक नेपलीको सोमबार पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको हो।
गणेश नेपालीले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। प्रारम्भिक अनुसन्धानअनुसार काठमाडौं महानगरपालिकाले उनको मोटरसाइकलमा ‘ह्विल लक’ लगाएपछि उत्पन्न तनावका बीच उनले उक्त कदम चालेको प्रहरीले जनाएको थियो। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएको थियो।
उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएको प्रहरीले पुष्टि गरेको थियो। चिकित्सकका अनुसार उनको शरीरको ठूलो भाग जलेको थियो र सघन उपचारका बाबजुद स्वास्थ्य अवस्थामा सुधार आउन सकेन।
गणेश नेपालीको मृत्युपछि घटनाले राष्ट्रिय रूपमा व्यापक चासो पाएको छ। घटनाको निष्पक्ष छानबिन, जिम्मेवार पक्षमाथि कारबाही तथा महानगरको कार्यशैलीबारे समीक्षा गर्नुपर्ने माग विभिन्न राजनीतिक दल, नागरिक समाज र मानवअधिकारकर्मीहरूले उठाएका छन्।
परिवारका सदस्यहरूले गणेश आर्थिक रूपमा संघर्षरत रहेको, काठमाडौंमा राइड-सेयरिङ (पठाओ) चालकका रूपमा काम गर्दै आएको तथा वैदेशिक रोजगारीको तयारीमा रहेको बताएका छन्। उनको असामयिक निधनले परिवार शोकमा डुबेको छ भने स्थानीय समुदायले पनि गहिरो दुःख व्यक्त गरेको छ