शंकास्पद गाडी राखिएको घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिनको माग

दियोपोस्ट संवाददाता  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा राखिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टीले सोमबार विज्ञप्ति जारी गर्दै यस्ता गतिविधिले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मनोवैज्ञानिक दबाबमा राख्ने तथा प्रेस स्वतन्त्रतामाथि चुनौती खडा गर्ने जनाएको हो।

रास्वपाका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा राज्यको चौथो अंगका रूपमा स्थापित आमसञ्चारमाध्यम र सञ्चारकर्मीहरूले निर्भीक रूपमा काम गर्ने वातावरणमाथि धावा बोल्ने उद्देश्यले गरिएका यस्ता शंकास्पद गतिविधि लोकतान्त्रिक मूल्य-मान्यताको उल्लंघन भएको उल्लेख छ।

लोकतान्त्रिक, जिम्मेवार र विधिको शासनमा विश्वास गर्ने राजनीतिक दलका रूपमा रास्वपा पूर्ण प्रेस स्वतन्त्रता, नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार र स्वतन्त्र पत्रकारिताको पक्षमा दृढ रहेको विज्ञप्तिमा भनिएको छ।

पार्टीले कुनै पनि बहानामा सूचना तथा सञ्चार स्वतन्त्रता हनन गर्ने, सञ्चार गृहहरूमा त्रासको वातावरण सिर्जना गर्ने वा चौथो अंगलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने स्पष्ट पारेको छ। रास्वपाले प्रेस क्षेत्रलाई त्रसित बनाउने उद्देश्यबाट प्रेरित यस्ता गतिविधिको भर्त्सना गर्दै घटनाको तत्काल, निष्पक्ष र सत्यतथ्य छानबिन गर्न सरकार, गृह मन्त्रालय र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ।

यस्ता शंकास्पद गतिविधिमा संलग्न जोसुकै भए पनि तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुपर्ने माग गर्दै रास्वपाले सञ्चारमाध्यम र सञ्चारकर्मीको भौतिक तथा मनोवैज्ञानिक सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ।

विज्ञप्तिमा स्वतन्त्र र भयरहित पत्रकारिता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै रास्वपाले सञ्चार जगतलाई कुनै पनि दबाब र त्रासमा नपरी सत्यतथ्यमा आधारित पत्रकारिताको जिम्मेवारी निर्वाह गर्न अपिल गरेको छ। पार्टीले सञ्चारकर्मी तथा सञ्चार गृहहरूको सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा आफू सदैव उभिने प्रतिबद्धता पनि जनाएको छ।