आजको डिजिटल युगमा सामाजिक सञ्जालले मानव जीवनमा एक अभूतपूर्व क्रान्ति ल्याएको छ। फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता प्लेटफर्महरूले व्यक्तिलाई स्वतन्त्र रूपमा बोल्ने मात्र होइन, संवेदनशील विषय उठान गर्ने हौसला दिएका छन्। सुदुर बस्तीका आम नागरिकदेखि शहरका युवा विद्यार्थीसम्मलाई एउटै डिजिटल सञ्जालमा जोडिदिएको छ।
नेपालजस्तो विकासोन्मुख मुलुकमा सामाजिक सञ्जालले थुप्रै असम्भव जस्ता लाग्ने कुरालाई सम्भव बनाएको छ। चाहे त्यो शिक्षा होस्, रोजगारको अवसर होस् वा आवाज उठाउने हिम्मत। सामाजिक, शैक्षिक, राजनीतिक र आर्थिक क्षेत्रमा गहिरो प्रभाव छोडेको छ।
अहिले सामाजिक सञ्जाल केवल ‘मनोरञ्जन’ होइन, सामाजिक परिवर्तनको शक्तिशाली यन्त्र बनेको छ । नेपालमा विशेष गरी फेसबुक, टिकटक र युट्युब सबैभन्दा बढी प्रयोग हुने प्लेटफर्म हुन्, जसले शिक्षा, राजनीति, मनोरञ्जन, व्यवसाय र सामाजिक अभिव्यक्तिमा महत्वपूर्ण स्थान ओगटेका छन्। सबैभन्दा पहिले यसले स्वतन्त्र अभिव्यक्तिको ढोका खोलेको छ।
हामीले निर्धक्क तरिकाले आफ्ना विचार, भावना र विचारहरू सामाजिक संजाल मार्फत सहज तरिकाले राख्न सकिरहेका छौं। कुरा यति मात्रै होइन निःशुल्क तालिम, ई–लर्निङ सामग्री, र जागरुकता अभियानहरूले डिजिटल शिक्षाले विद्यार्थीको भविष्य उज्यालो बनाउनमा यसले ठूलो भूमिका खेलेको छ।
सामाजिक सञ्जालमार्फत थुप्रै युवाहरूले साना व्यवसाय सुरु गरी आफ्नै पौरखमा जीवन निर्माण गरिरहेका छन्। डिजिटल मार्केटिङ, सामग्री सिर्जना, युट्युब च्यानलजस्ता माध्यमहरूबाट रोजगारी सिर्जना भइरहेको छ। अझ रमाइलो कुरा के भने, सामाजिक सञ्जालले देशविदेशका हजारौँ मनहरूलाई एउटै थलोमा जोड्ने अद्भुत सम्भावना पनि ल्याएको छ।
यहाँसम्म पढिरहँदा तपाईलाई लागिरहेको होला कि सामाजिक संजालमा धेरै फाइदा हुने रहेछ भन्ने। जति तपाईले यो पढ्नु भयो यो सामाजिक संजालका राम्रो पक्षहरू मात्रै पढ्नु भएको हो। यसका नराम्रा पक्षहरू पनि उत्तिक्कै छन्। यसमा बारेमा पनि केही अध्ययन गरौ है त।
सामाजिक सञ्जालले अनेक अवसरहरू प्रदान गरे पनि यसले साथमा गम्भीर विकृतिहरूको खतरा पनि बोकेको छ । भ्रामक सूचना र फेक न्युजको तीव्र फैलावटले गर्दा समाजमा भय, भ्रम र द्वन्द्वको बीउ रोप्ने ठूलो काम गरिरहेको छ। सत्यता पुष्टि नगरी फैलाइने हल्लाले कतिपय अवस्थामा मानिसको जीवन नै जोखिममा पार्दछ। त्यस्तै, साइबर अपराध सामाजिक सञ्जालसँगै डरलाग्दो रूपमा बढ्दो छ । ह्याकर आक्रमण, निजताको उल्लङ्घन, फिसिङ र डिजिटल ब्ल्याकमेलिङ जस्ता अपराधहरूले निरपराध प्रयोगकर्ताहरूलाई आतंकित बनाएका छन्।
अनावश्यक तुलना, सामाजिक दबाब,कम लाइक र कमेन्टको तनावले युवाहरूमा आत्मसम्मान गुम्ने, एक्लोपन र डिप्रेशनजस्ता समस्या बढिरहेका छन्। सामाजिक सञ्जालकै कारण सर्वस्व गुमाउनेदेखि अर्बौ कमाउनेसम्म छन्। सायद यसो भन्न मिल्छ होला अहिले सामाजिक सञ्जाल ‘बुझ्नेलाई श्रृखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भयो ।
किन कि सामाजिक सञ्जाल प्रयोग गर्न जान्नेका लागि लाखौं कमाउने माध्यम बनेको छ। नेपालजस्तो भौगोलिक रूपले जटिल देशमा सामाजिक सञ्जालले सूचनाको पहुँचमा क्रान्ति ल्याएको हो। पहिले मुख्यधारको समाचार र जानकारीबाट टाढा रहेका गाउँका मानिस अहिले स्मार्टफोनमार्फत विश्वसम्म जोडिएका छन्। तर, यही प्रविधिले समयको असीमित दुरुपयोग गराउँदै युवालाई दिशाहीन जीवनशैलीमा डोर्याउने खतरा पनि देखापरेको छ।
युनिसेफ(२०२४) को रिपोर्ट अनुसार, १६–२४ उमेर समूहका ७०५ युवाहरूले प्रतिदिन ३ देखि ५ घण्टा सामाजिक सञ्जालमा समय खर्च गर्छन्। यसले उनीहरूको सिर्जनात्मकता, पढाइ र उद्देश्यहीन जीवनशैलीमा प्रत्यक्ष असर पारेको छ। समय व्यवस्थापनमा असन्तुलनले अश्लील सामग्री, भाइरल भिडिओ र निरर्थक बहसमा धेरै समय खर्च हुने प्रवृत्ति बढ्दो छ।
साइबर ब्यूरोको आर्थिक वर्ष (0८१/८२ को तथ्याङ्क अनुसार विद्युतीय कारोबार ऐन सम्बन्धी ११,२०२ र विद्युतीय माध्यम सम्बद्ध ठगी सम्बन्धी ७,७२४ गरि जम्मा १८,९२६ निवेदन परेका छन् । यसले पनि हामीलाई थाहा हुन्छ कि साइबर सम्बन्धीका अपराधका घटनाहरूको कसरी वृद्धि भइरहका छन् भन्ने कुरा।
दुखको कुरा भन्दा आजभोलि हामी सामाजिक सञ्जालमा यति धेरै रमाइरहेका छौँ कि धर्म, संस्कृति र आस्थाको पनि डिजिटलकरण गर्न थालेका छौँ। मन्दिर जानुको सट्टा फोटोमा ‘ॐ’ लेखेर दर्शन गर्ने, सर्पको फोटोमा ‘गो’ कमेन्ट गरेर कुदाउने हाम्रो सामान्य व्यवहार बनेको छ। आस्था व्यक्तिगत कुरा हो, तर यसको गहिरो अर्थ बुझ्न नसकी यसलाई सामाजिक सञ्जालको ट्रेन्डमा सीमित गर्नु हाम्रो चेतनाको पतन हो। हामी डिजिटल दुनियाँमा आत्मसन्तुष्टि खोज्दै वास्तविकता बिर्संदै गइरहेका छौँ।
यसरी हेर्दा सामाजिक सञ्जाल आजको युगको अपरिहार्य यथार्थ हो। यसले शिक्षा, सूचना, अभिव्यक्ति, रोजगारी र सामाजिक रूपान्तरणमा सशक्तीकरणका अनगिन्ती ढोका खोलेको छ । तर प्रयोगकर्ताको विवेक, उद्देश्य र नैतिक चेतनामा भर पर्छ कि यो यन्त्र वरदान बन्नेछ वा अभिशाप । त्यसैले अबको आवश्यकता भनेको सन्तुलन र समझदारीका साथ प्रयोग हो । सामाजिक सञ्जाल बुझेर, सोचेर, जिम्मेवारीपूर्वक प्रयोग गरौँ, ताकि यो प्रविधि समृद्ध भविष्यको निर्माणमा सहायक बनोस्, विनाशको कारण होइन् ।
सामाजिक सञ्जालको प्रभाव बढेसँगै यसको प्रयोगमा नियमन र जिम्मेवारी अत्यन्त जरूरी बनिएको छ । नेपाल सरकारले साइबर अपराध नियन्त्रणका लागि केही कानुनी व्यवस्था गरिसकेको भए पनि व्यवहारमा यसको कार्यान्वयन कमजोर देखिएको छ । फेक अकाउन्ट, चरित्र हत्या, व्यक्तिगत गालीगलौजजस्ता विषयहरूमा तत्काल कारबाही हुन नसक्नुले सामाजिक सञ्जालमा अराजकता बढाउने खतरा देखिएको छ । अर्कोतर्फ, यस्ता प्लेटफर्महरू सञ्चालन गर्ने ठूला कम्पनीहरू जस्तै फेसबुक, युट्युब, टिकटकले पनि नेपाली प्रयोगकर्ताको सुरक्षा र गोपनीयतालाई ध्यान दिनुपर्ने आवश्यकता छ ।