अन्यायविरुद्ध लडाइँ : डाँका, चोर र पकेटमारको एबीसी सत्य !

दियोपोस्ट संवाददाता  

नेपालमा भ्रष्टाचारको कुरा उठ्दा धेरैजसो मानिसको दिमागमा सानो घुसको चित्र आउँछ । कुनै फाइल अघि बढाउन पैसा लिने, सानो कामका लागि रकम माग्ने, सेवा लिन जाँदा अतिरिक्त शुल्क तिर्नुपर्ने—यही नै सामान्य बुझाइ बनेको छ । तर वास्तविकता त्यसभन्दा धेरै ठूलो छ । भ्रष्टाचार एउटै तहमा सीमित छैन । यो धेरै तहमा फैलिएको छ । यदि यसलाई व्यवस्थापनको एबीसी विश्लेषणसँग जोडेर हेरियो भने यसको संरचना अझ प्रस्ट देखिन्छ ।

एबीसी विश्लेषण भनेको कामलाई महत्वका आधारमा छुट्याउने तरिका हो । यसमा वस्तुहरूलाई ए, बी र सी तीन वर्गमा राखिन्छ । ए वर्गमा करिब १०–२० प्रतिशत वस्तु हुन्छन् तर तिनले कुल मूल्यको ७०–८० प्रतिशत ओगट्छन् । बी वर्गमा करिब २०–३० प्रतिशत वस्तु हुन्छन् र मूल्य योगदान १५–२५ प्रतिशत हुन्छ । सी वर्गमा करिब ५०–७० प्रतिशत वस्तु हुन्छन् तर मूल्य योगदान मात्र ५–१० प्रतिशत हुन्छ । यसको अर्थ के हो भने—संख्या धेरै भएको कुरा सधैँ महत्वपूर्ण हुँदैन, असर जहाँ ठूलो हुन्छ त्यहीँ ध्यान दिनुपर्छ ।

अब यही ढाँचालाई भ्रष्टाचारमा राख्दा तीन प्रकार देखिन्छ—

ए प्रकार भनेको डाँका प्रवृत्ति हो,
बी प्रकार भनेको चोर प्रवृत्ति हो,
सी प्रकार भनेको पकेटमार प्रवृत्ति हो ।

सबैभन्दा तल सी प्रकार अर्थात् पकेटमार प्रवृत्ति हुन्छ । यही सबैभन्दा धेरै देखिन्छ । यसको घटना करिब ७०–९० प्रतिशत हुन्छ । दैनिक जीवनमा मानिसले भोग्ने समस्या यही हो। कर कार्यालयमा सानो सेटिङ, भन्सार जाँचपासमा अतिरिक्त रकम, मालपोतका लेखन्दास, जग्गाका दलाल, बजारका बिचौलिया, पेट्रोल पम्पमा मिलेमतो, सवारीले बढी भाडा लिने, ट्याक्सीले मिटर नहाल्ने—यी सबै पकेटमार प्रवृत्तिका उदाहरण हुन् ।

यसै तहमा मिडियामा देखिने विज्ञापन कमिसनको खेल पनि पर्छ। कम्पनीले विज्ञापन दिन्छ। बीचमा एजेन्सी राखिन्छ। कागजमा सबै मिलेको देखिन्छ। तर भित्रबाट केही प्रतिशत पैसा फर्किन्छ । यो सानो रकम हो, तर बारम्बार उठ्छ। यही कारणले यसलाई पकेटमार भनिन्छ ।

पकेटमार प्रवृत्तिको विशेषता के हो भने—यो धेरै हुन्छ, सजिलै देखिन्छ, र कहिलेकाहीँ समात्न पनि सजिलो हुन्छ । त्यसैले जनताको ध्यान पनि यहीँ अड्किन्छ। मिडियाले पनि यही देखाउँछ। कारबाही पनि यहीँ हुन्छ। तर यसको असर भने सानो–सानो हुन्छ। कुल असर करिब ५–१५ प्रतिशत मात्र हुन्छ ।

यसको माथि बी प्रकार अर्थात् चोर प्रवृत्ति आउँछ। यसको घटना करिब १०–२० प्रतिशत हुन्छ । तर असर करिब १५–३० प्रतिशत हुन्छ। यहाँ प्रक्रिया मिलाइन्छ । ठेक्का कसले पाउने भन्ने पहिले नै तय हुन्छ। खरिद प्रक्रिया कागजमा ठीक देखिन्छ तर भित्रबाट मिलेमतो हुन्छ। लाइसेन्स वितरणमा पनि यस्तै खेल हुन्छ ।

चोर प्रवृत्ति सजिलै देखिँदैन । प्रमाण भेट्न गाह्रो हुन्छ। तर पैसाको खेल ठूलो हुन्छ। धेरै पक्ष जोडिएका हुन्छन् । बाहिर सबै नियम अनुसार देखिन्छ, तर भित्र सबै मिलाइएको हुन्छ ।
सबैभन्दा माथि ए प्रकार अर्थात् डाँका प्रवृत्ति हुन्छ। यसको घटना करिब १–१० प्रतिशत मात्र हुन्छ । तर असर करिब ६०–८० प्रतिशत हुन्छ । यहाँ नियम नै बनाइन्छ। नीति नै आफ्नो अनुकूल बनाइन्छ । कर छुट दिने, विशेष सुविधा दिने, कुनै क्षेत्रलाई प्राथमिकता दिने—यी सबै निर्णयले ठूलो असर पार्छ । एउटा निर्णयले अर्बौँको फाइदा वा घाटा गराउन सक्छ ।
डाँका प्रवृत्ति देखिँदैन । मिडियामा कम आउँछ। तर शक्ति यहीँ हुन्छ । नियम बनाउने ठाउँमा बस्ने भएकाले यसको असर सबैभन्दा ठूलो हुन्छ ।

अब मुख्य कुरा के हो भने—एबीसी विश्लेषणले भन्छ, जहाँ असर धेरै हुन्छ त्यहीँ बढी ध्यान दिनुपर्छ । तर हाम्रो अवस्थामा ठीक उल्टो भइरहेको छ ।

ध्यान कहाँ छ?

पकेटमारमा ।
कारबाही कहाँ हुन्छ ?
पकेटमारमा ।
चर्चा कहाँ हुन्छ ?
पकेटमारमा ।
किन यस्तो हुन्छ ? किनकि पकेटमार धेरै देखिन्छ । मानिसले दैनिक यही भोग्छ । बुझ्न सजिलो हुन्छ । देखाउन सजिलो हुन्छ ।
तर डाँका र चोर किन देखिँदैनन् ? किनकि ती जटिल छन् । बुझ्न गाह्रो छन् । त्यहाँ शक्ति धेरै छ ।
यदि प्रतिशतमा हेर्ने हो भने—
पकेटमारः ७०–९० प्रतिशत घटना, ५–१५ प्रतिशत असर
चोरः १०–२० प्रतिशत घटना, १५–३० प्रतिशत असर
डाँकाः १–१० प्रतिशत घटना, ६०–८० प्रतिशत असर
यसले के देखाउँछ भने—हामी धेरै घटनामा अल्झिएका छौँ, तर ठूलो असर हुने ठाउँमा ध्यान छैन ।
यही नै अन्याय हो ।
अन्याय के हो भने—साना मान्छे समातिन्छन्, ठूला छुट्छन् ।
अन्याय के हो भने—देखिनेलाई दोषी बनाइन्छ, नदेखिने सुरक्षित हुन्छ ।
अन्याय के हो भने—पकेटमारसँग लडाइँ हुन्छ, डाँका र चोरसँग चुप लागिन्छ ।
आजको अवस्था यही हो ।
जनता पकेटमारसँग लडिरहेका छन् ।
मिडिया पकेटमारको कथा सुनाइरहेको छ ।
निकाय पकेटमार समातेर सफलता देखाइरहेका छन् ।
तर प्रश्न अझै उस्तै छ—
डाँका कहाँ छन् ?
चोर कहाँ छन् ?
यी प्रश्न उठ्नु भनेको अन्यायविरुद्ध लडाइँ हो ।
जबसम्म यी प्रश्न उठ्दैनन्, तबसम्म लडाइँ अधुरो रहन्छ।
एबीसी विश्लेषणले स्पष्ट देखाउँछ—समस्या कहाँ छ ।
तर ध्यान गलत ठाउँमा गएको छ ।
अहिले बहस सतहमा छ ।
गहिराइमा पुगेको छैन ।
जबसम्म तीनै तह—पकेटमार, चोर र डाँका—सबैलाई समान रूपमा हेर्ने आँखा बन्दैन, तबसम्म चित्र पूरा हुँदैन ।
अहिले देखिएको कुरा आधा सत्य हो ।
बाँकी आधा अझै लुकेको छ ।
र यही लुकेको भाग नै सबैभन्दा ठूलो अन्याय हो ।

लेखक: लेखक दलाल निषेध अभियान