काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्सेकी विमला बिकले विभिन्न व्यक्तिहरूले आफूलाई जालसाजीमा पारेर जग्गा हडपेको, बिक्री गरेको जग्गाको रकम समेत नदिएको तथा न्यायका लागि पटक-पटक पहल गर्दा ज्यान मार्ने धम्की आएको भन्दै आमरण अनसन सुरु गरेकी छन्।
जिल्ला प्रशासन कार्यालय उदयपुरमा पेश गरेको निवेदनमा बिकले नेपाली कम्युनिष्ट पार्टी नेकपाकी कोशी प्रदेश सांसद सम्झना पाख्रिन र झापा धुलाबारी स्थायी घर भई हाल त्रियुगा नगरपालिका-१२ बस्ने कमला सम्बाहाम्फेले ललाई फकाई अफ्नो जग्गा अर्कैको नाममा पास गर्न लगाएको र अहिले सम्म जग्गा तथा पैसा फिर्ता नदिएको बताएकी छन् ।
सम्झना पाख्रिनसंग सामान्य चिनजान रहेको र उनै पाख्रिनले विमलालाई केही समयका लागि जग्गा धितो राखेर पैसा चलाउने, भाकाभित्र जग्गा फिर्ता गरिदिने, काम लगाइदिने, तथा छोराछोरीको पालनपोषण र पढाइमा सहयोग गर्ने जस्ता आश्वासन दिएर आफ्नो जग्गा कमला सम्बाहाम्फेको नाममा पास गराउन दबाव दिएको निवेदनमा उल्लेख छ।
यही विश्वासमा परी आफूले साविक भुमरसुवा गाविस-४ स्थित कित्ता नम्बर ११२२ को १६ धुर ५० हात क्षेत्रफल रहेको जग्गा २०७२ साल पुस १९ गते मालपोत कार्यालय उदयपुरमार्फत कमला सम्बाहाम्फेको नाममा राजीनामा पास गरेको उनले बताएकी छन्।
बिकका अनुसार सम्झना पाख्रिनले गरेको सहमतिअनुसार निर्धारित समयमा जग्गा फिर्ता गरिनन्। पटक-पटक ताकेता गर्दा विभिन्न बहाना बनाउँदै आलटाल गरिएको, अपरिचित व्यक्तिमार्फत धाकधम्की दिइएको र जग्गा फिर्ता गरिसकेको भन्दै झुटो बोल्दै आएको बिमलाले आरोप लगाएकी छन्।
बिकले आफ्नो जग्गा ललाई-फकाई गरी बिक्री गराइएको, बिक्रीपछि जग्गाको मूल्य नपाएको तथा पटक-पटक पैसा वा जग्गा फिर्ता माग्दा समेत बेवास्ता गरिएको आरोप लगाइन् । उनले आफूमाथि भएको अन्यायबारे सञ्चारमाध्यममार्फत सार्वजनिक गरेपछि ज्यान मार्ने धम्कीसमेत आउन थालेको बताइन् ।
अनसनरत बिकका अनुसार उनले जिल्ला प्रशासन कार्यालय उदयपुर, वडा कार्यालय, त्रियुगा नगरपालिका तथा अन्य सम्बन्धित निकायमा समेत निवेदन दिइसकेकी छन्। तर हालसम्म आफ्नो गुनासोको सुनुवाइ नभएको उनको भनाइ छ।
‘आफुलाई परेको अन्यायका विषयमा जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएँ। वडा, नगरपालिकामा समेत निवेदन दिइसकेकी छु। तर मेरो सुनुवाइ कसैले गरेन,’ बिकले भनिन्, ‘अहिले आफेनो न्यायका लागि अनसनमा बस्नु परेको छ । कानुन ठूला-बडाका लागि मात्र रहेछ। हामी गरिब र निमुखाका लागि कानुन बनेको रहेनछ। मेरो बास उठाइएको छ तर मेरो पक्षमा बोलिदिने कोही भएन। मिडियामा अन्यायबारे जानकारी गराएकै कारण अहिले ज्यान मार्ने धम्की आइरहेको छ ।’
बिमलाले आफूलाई गालीगलौज गर्ने, डर-त्रास देखाउने तथा ज्यानसमेत असुरक्षित बनाउने गतिविधि भएको दाबी गर्दै सम्बन्धित निकायबाट दोषीमाथि कानुनी कारबाही, आफ्नो जग्गा फिर्ता गराउने पहल तथा जीउधनको सुरक्षा सुनिश्चित गरिदिन माग गरेकी छन्।