शताब्दीको संघारमा विश्वकपः मेक्सिको-दक्षिण अफ्रिकाबाट सुरु हुँदै इतिहासकै सबैभन्दा ठूलो संस्करण

दियोपोस्ट संवाददाता  

काठमाडौँ । फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ। उद्घाटन खेलमा आयोजक राष्ट्र मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन्। रोचक संयोग के छ भने, सन् २०१० को विश्वकपको उद्घाटन खेल पनि यिनै दुई टोलीबीच भएको थियो, जहाँ खेल १-१ को बराबरीमा सकिएको थियो।

विश्वकपको करिब एक सय वर्ष लामो इतिहासमा यो २३औँ संस्करण अहिलेसम्मकै सबैभन्दा ठूलो, फराकिलो र ऐतिहासिक संस्करणका रूपमा आयोजना हुँदैछ। पहिलो पटक विश्वकप तीन राष्ट्र-संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरिरहेका छन्।

यस संस्करणले विश्वकपका धेरै पुराना कीर्तिमान तोडिसकेको छ। पहिलो पटक ४८ राष्ट्रले सहभागिता जनाउँदैछन्, जुन अघिल्लो संस्करणको ३२ टोलीको तुलनामा १६ टोली बढी हो। टोली संख्या बढेसँगै खेल संख्या पनि ६४ बाट बढेर १०४ पुगेको छ, जसले यसलाई विश्वकप इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता बनाएको छ।

नयाँ ढाँचाअनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहमा चार टोली रहनेछन् र शीर्ष दुई टोलीसँगै उत्कृष्ट आठ तेस्रो स्थानका टोली नकआउट चरणमा प्रवेश गर्नेछन्। यसका लागि पहिलो पटक ‘राउन्ड अफ ३२’ समावेश गरिएको छ।

विश्वकप २०२६ का खेलहरू उत्तर अमेरिकाका १६ रंगशालामा खेलाइनेछन्। प्रतियोगिता ११ जुनदेखि १९ जुलाईसम्म चल्नेछ। उद्घाटन खेल मेक्सिको सिटीको ऐतिहासिक स्टेडियममा हुनेछ भने फाइनल अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आयोजना हुनेछ।

विश्वकप सुरु हुनुअघि नै यस संस्करणले ‘सबैभन्दा धेरै टोली’, ‘सबैभन्दा धेरै खेल’, ‘सबैभन्दा धेरै आयोजक राष्ट्र’ लगायतका नयाँ कीर्तिमान आफ्नो नाममा लेखाइसकेको छ। त्यसैले २०२६ को विश्वकप केवल अर्को फुटबल प्रतियोगिता मात्र नभई विश्व फुटबलको नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ।

सिफारिस