के विकासले वास्तवमै शान्ति ल्याउँछ?

- रबाह अरेज्की  

एजेन्सी-  सन् १९४९ मा अमेरिकी राष्ट्रपति ह्यारी एस. ट्रुमनले एउटा साहसिक दृष्टिकोण प्रस्तुत गरेका थिए, जसले दशकौंसम्म विश्वव्यापी नीतिलाई आकार दियो। उनको तर्क थियो, “गरिबी मानवीय चिन्ताको विषय मात्र होइन, यो शान्तिप्रतिकै खतरा हो र विकास नै यसको अचुक औषधि हो।”

उनको तर्क सरल र प्रभावकारी थियो- ‘जीवनस्तर उकास्नुहोस्, र द्वन्द्वको जोखिम स्वतः कम हुनेछ।’

वर्षौंसम्म विकासलाई स्थिरताको मार्गका रूपमा चित्रण गर्ने यो ‘लिनियर मोडल’ नै अन्तर्राष्ट्रिय सहायताको बौद्धिक आधार बन्यो।

तर, आजको संसार धेरै फरक देखिन्छ। चरम गरिबी ऐतिहासिक रूपमा न्यून स्तरमा झरेको भए तापनि, हिंसात्मक द्वन्द्व दोस्रो विश्वयुद्धयताकै उच्च तहमा पुगेको छ। यी प्रवृत्तिहरूले के सङ्केत गर्छन् भने, अब विकासको त्यो पुरानो मोडेल र यसको पछाडिको तर्कलाई पुनरावलोकन गर्ने समय आएको छ।

संयुक्त राष्ट्रसंघको २०३० एजेन्डामा व्यक्त गरिएको परम्परागत धारणा अनुसार, ‘द्वन्द्वले विकासलाई कमजोर बनाउँछ भने गरिबी र असमानताले द्वन्द्वलाई बढावा दिन्छ।’ यसले के बुझाउँछ भने एक क्षेत्रमा भएको प्रगतिले अर्कोलाई मजबुत बनाउँछ, जसले नीति निर्माताहरूलाई विकास सहायतालाई एक नैतिक कर्तव्य र रणनीतिक लगानी दुवैका रूपमा प्रस्तुत गर्न मद्दत गर्दछ।

तर यो दृष्टिकोण सधैं प्रमाणभन्दा बढी अनुमानमा आधारित रहिआएको छ। धेरै अनुसन्धानहरूले आर्थिक उत्पादन, मानवीय पुँजी र संस्थागत क्षमतामा द्वन्द्वको विनाशकारी प्रभावलाई दस्तावेजीकरण गरेका छन्, तर विकास र शान्तिबीचको सम्बन्ध स्थापित गर्न भने धेरै गाह्रो देखिएको छ।

विकास र भू-राजनीतिक स्थिरताबीचको कारण-प्रभाव सम्बन्ध कत्तिको बलियो छ? मेरो हालैको अनुसन्धानले एक गम्भीर र अचम्मको यथार्थ उजागर गरेको छ। जब द्वन्द्व सुरु हुन्छ, विकासमा यसको प्रभाव गहिरो र दीर्घकालीन हुन्छ। द्वन्द्वले पुर्‍याएको क्षतिको प्रभाव आधा हुन औसतमा झण्डै आठ वर्ष लाग्छ, जसलाई अर्थशास्त्रीहरू “हाफ-लाइफ” भन्छन्।

यसको विपरीत, शान्ति स्थापनामा विकासको प्रभाव क्षणभंगुर देखिन्छ। विकासको नतिजामा सुधार आएपछि द्वन्द्व कम हुने प्रभावको ‘हाफ-लाइफ’ जम्मा १३ महिनाको हुन्छ। दुई वर्षभित्रमा, द्वन्द्वको तीव्रतामा देखिएको कुनै पनि मापनयोग्य कमी पूर्ण रूपमा हराएर जान्छ।

यसको मुख्य कारण सशस्त्र द्वन्द्वले पुर्‍याउने क्षतिको विशाल मात्रा हो। युद्धले जीविकोपार्जन र सार्वजनिक सेवालाई मात्र अवरुद्ध गर्दैन; यसले पुस्ताौंदेखि निर्माण गरिएका भौतिक पूर्वाधार, मानवीय पुँजी, कार्यशील संस्थाहरू र सामूहिक कार्यलाई सम्भव बनाउने आधारभूत सामाजिक विश्वासलाई नै नामेट पारिदिन्छ।

विकासका प्रयासहरूले फरक ढंगले काम गर्छन्। नगद हस्तान्तरण, क्लिनिक र सिँचाइ प्रणालीले जीवन सुधार गर्न र गुनासाहरू कम गर्न त सक्छन्, तर तिनीहरूले हिंसालाई टिकाउने आधारभूत राजनीतिक परिस्थितिहरूलाई परिवर्तन गर्न विरलै सक्छन्।

यसका नीतिगत प्रभावहरू दूरगामी छन्। यदि विकासले हिंसामा अल्पकालीन मात्र कमी ल्याउँछ भने, द्वन्द्व रोकथामको औजारका रूपमा विकास सहायताको भूमिका सोचेभन्दा कमजोर छ। यो निष्कर्ष ती संस्थाहरूका लागि असहज हुन सक्छ, जसले लामो समयदेखि सुरक्षाका नाममा सहायता बजेटलाई जायज ठहर्‍याउँदै आएका छन्।

पक्कै पनि, आज विकासमा लगानी गर्दा भोलिको युद्धको उच्च लागतबाट बच्न सकिन्छ भन्ने तर्क पूर्णतया गलत होइन। द्वन्द्व प्रभावित क्षेत्रमा दिइने सहायताले हिंसा कम गर्न सक्छ भन्ने केही प्रमाणहरू छन्, यद्यपि ती प्रभावहरू सामान्य र सधैं तथ्याङ्कीय रूपमा बलिया हुँदैनन्। तर रणनीतिक प्रभाव जस्तोसुकै भए पनि, विकास खर्च मानवीय र नैतिक आधारमा जायज छ। यद्यपि, निरन्तरको लगानीले मात्र सशस्त्र द्वन्द्वलाई भरपर्दो रूपमा रोक्न वा समाधान गर्न सक्छ भन्ने दाबीलाई प्रमाणले पुष्टि गर्दैन।

प्रमाणले के देखाउँछ भने यसको उल्टो सम्बन्ध बढी सत्य छ: दिगो विकास ट्रुमनकालीन धारणाले सोचेभन्दा धेरै हदसम्म ‘शान्ति’मा निर्भर हुन्छ। द्वन्द्व रोक्नाले विकासमा ठूलो लाभ पुग्छ, किनकि युद्ध बिनाको प्रत्येक वर्षले वर्षौंसम्म गरिएको प्रगतिलाई जोगाउँछ। द्वन्द्व रोकथामका लागि गरिने लगानी (जसमा राजनीतिक सम्झौता, शक्ति बाँडफाँडको व्यवस्था र विश्वसनीय शान्ति प्रक्रियाहरू पर्दछन्), ती विकास खर्चका विकल्प होइनन्, यसका पूर्वशर्त हुन्।

तसर्थ, हामीले विकास अर्थशास्त्रको वर्तमान सिद्धान्तमा पुनर्विचार गर्नुपर्छ। अविश्वास, कमजोर सेवा र बारम्बार हुने हिंसाले ग्रस्त विकासोन्मुख देशहरूमा, राजनीतिक स्थिरता र राज्यको वैधतालाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। जब त्यो आधार तयार हुन्छ, तब मात्र संस्थागत सुधार र दिगो विकास खर्चले ठोस नतिजा दिन सक्छ।

यसको अर्थ गरिबीले विश्वव्यापी शान्तिमा खतरा पुर्‍याउँछ भन्ने ट्रुमनको तर्क गलत थियो भन्ने होइन। तर यसको बाटो हामीले सोचेको भन्दा बढी जटिल र अनपेक्षित छ। विकासले शान्तिलाई ‘कायम राख्न’  मद्दत त गर्न सक्छ, तर शान्ति ‘सिर्जना गर्न’ भने यो निकै कम प्रभावकारी छ।

यो भिन्नतालाई स्वीकार गर्नुको अर्थ विकासको प्रयासलाई त्याग्नु होइन। बरु, यसले वर्तमान मोडेलका सीमितताहरूलाई इमानदारीपूर्वक स्वीकार गर्न र विकास नीतिका लागि अझ यथार्थपरक र प्रभावकारी दृष्टिकोणको जग बसाल्न आह्वान गर्दछ। [प्रोजेक्ट सिन्डीकेटबाट)

  • अफ्रिकी विकास बैंकका पूर्व उपाध्यक्ष रबाह अरेज्की, फ्रान्सेली राष्ट्रिय वैज्ञानिक अनुसन्धान केन्द्र (CNRS) का अनुसन्धान निर्देशक र हार्वर्ड केनेडी स्कूलका सिनियर फेलो हुन्।

सिफारिस