उत्तराखण्डको बाढीमा धादिङका ४ नेपाली सम्पर्क विहिन !

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतको उत्तराखण्डस्थित खीरगंगा नदीको माथिल्लो क्षेत्र हुँदै उत्तरकाशी जिल्लाको धराली बजारमा आएको भिषण बाढीमा परि ४ जना नेपाली बेपत्ता भएका छन् । रोजगारीको शिलसिलामा त्यहाँ पुगेका उनीहरु मंगलबारदेखि सम्पर्क विहिन भएका हुन् ।

उत्तरकाँशीस्थित धराली बजारमा ज्याला मजदुरी गर्दै आएका धादिङका ४ जना ब्यक्ति सम्पर्क विहिन भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

सम्पर्क विहिन हुनेहरुमा धादिङ ज्वालामुखी गाउँपालिका २ काफलपानीका ५३ वर्षिय लाल बहादुर तामाङ, सोही ठाउँका ६५ वर्षिय छोलामा तामाङ, ५५ वर्षिय फेलामा तामाङ र ४८ वर्षिय सिंह बहादुर तामाङ रहेका छन् । उनीहरु चारै जना गत चैतमा मजदुरीका लागि धराली पुगेको थिए ।

मंगलबार देखि श्रीमानसंग फोनमा सम्पर्क हुन नसकेको भन्दै फेलामा तामाङकी श्रीमती पन्थे तामाङले बिहिबार वडा कार्यालय मैदीमा जानकारी गराएकी थिइन् । हरेक दिन फोनमार्फत कुरा भइरहने फोनमार्फत माघमा घर फर्किने जानकारी गराएका श्रीमान एकाएक सम्पर्कबिहिन भएपछि पन्थे तामाङ उनी चिन्तामा छिन् ।

पारिवारिक स्रोतका अनुसार सम्पर्क विहिनचारैजना उत्तराखण्डमा बाढी आउनु भन्दा एक घण्टा अगाडीसम्म सम्पर्कमा रहेका र बाढी आएको समाचार आएदेखि नै सम्पर्कमा आएका छैनन् ।

परिवारका सदस्यले आफ्ना श्रीमान सम्पर्कमा नआएको भन्दै गुनासो गरेको वडा नं. २ का सदस्य धन बहादुर तामाङले बताए । घटनाका बारेमा परिवारले जानकारी गराएलगत्तै वडा सदस्य तामाङले ‘मैदी प्रहरी चौकी’मा उजुरी दिएका थिए ।

‘उनीहरु जिवितै छन् या बाढीमा परेर मृत्यु भयो? कतै नेटवर्कमा समस्या आएर फोनसम्पर्क हुन नसकेको हो की केही थाहा पाउन सकिएन,’ वडा सदस्य धन बहादुर तामाङले भने, ‘भोलिसम्म पनि उनीहरु सम्पर्कमा नआएको खण्डमा उनीहरुलाई खोज्नका लागि उत्तराखण्ड जाने तयारी भएको छ,’ वडा सदस्य तामाङले बताए ।

सम्पर्क विहिन भएका चारै जनाको खोजीका लागि भारतीय प्रहरीसंग समन्व्य गरिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।