कर्ण,धरा र अग्नि पछि डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुँदै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । अग्नि महाकाव्यका लागि २०७८ को मदन पुरस्कार विजेता कवि डाक्टर नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ सार्वजनिक हुने भएको छ। यही भदौ २० गते शुक्रबार ३ बजे नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा कल्प सार्वजनिक गर्न लागिएको हो ।

निकै निस्तेज भएको मानिएको नेपाली महाकाव्य विधालाई उचाइ दिनमा उनको योगदान विशेष र विशिष्ट मानिन्छ। उनले काव्यलाई बौद्धिक र प्राज्ञिकहरूको मात्रै साँघुरो कब्जाबाट बाहिर निकालेर जेनजी पुस्तासम्म पुर्याएर लोकप्रिय बनाएका छन् ।

विभिन्न स्कुल र कलेजका विद्यार्थीहरूसँग निरन्तर संवाद र सम्पर्कमा रहेका लम्साल आफैँले आफू ‘भाइबहिनी पुस्ताले उठाएको कवि हुँ’ भन्दै आएका छन् । उनी युवालाई जति माया गर्छन् युवा पुस्ता पनि उनीसँग त्यति नै झुम्मिन्छन् पनि ।

विषयको समसामिकता, भाषिक सरलता तर त्यही सरलतामा उच्चस्तरको दार्शनिक चेतना उनका विशेषता हुन् । सांस्कृतिक चेतना र दार्शनिक रहस्यसँग समसामयिकतालाई अन्तरघुलन गर्न सक्नु उनको विशेष खुबी मानिन्छन्।

यसअघि उनका कर्ण, धरा र अग्नि महाकाव्य प्रकाशित छन् । लेख्नैका लागि रेडियो नेपालको निर्देशक तहको जागिर छोडेर कल्प लेख्न कसिएका लम्सालले कल्पका लागि झण्डै पाँच वर्ष खर्चेका छन्।

महाभारतका पात्र कर्णलाई नायकत्व दिएर लेखिएको कर्ण, देशको बहुलता र वैचारिक परम्परामाथि केन्द्रित धरा, आरनबाट उठेको सिपमा देशको इतिहास कुँदिएको अग्निपछि सार्वजनिक हुने कल्पलाई विशेष प्रतीक्षाका साथ हेरिएको छ।

‘कल्प’ शिखा बुक्सले प्रकाशन गरेको छ। शिखा बुक्सका पुष्पराज पौडेलले ‘कल्प’ वैश्विक चेतनाका साथ आएको बताए । पौडेलले थपे, ‘एउटा नेपाली कविले विश्वका महत्वपूर्ण घटनाक्रम र त्यसबाट मान्छेमाथि परेको प्रभाव कस्तो हुन्छ भनेर आँकलन गरेको यो गम्भीर काव्य हुनेछ,’ उनले भने, ‘विषय, भाषा र शैलीका हिसाबले कल्प नयाँ हुनेछ भन्ने मेरो विश्वास छ ।’

यो पुस्तकले आजको विश्व समस्यामाथि बहस प्रारम्भ गर्ने पौडलले बताए । लम्साल समस्या र तिनका निदानहरूको काव्यिक बाटोसहित आएको उनको बुझाई छ ।

महाकाव्यकार डाक्टर नवराज लम्लाल कवि अध्ययनशील, बौद्धिक र शालीन मानिन्छन्। उनको अध्ययन र बौद्धिकता काव्यहरूमा देखिन्छ पनि । सूचना, समाचार र साहित्यिक कर्मका लागि रेडियो नेपालमा ३० वर्ष र बिबिसीमा १० वर्ष बिताएका लम्साल नेपाली रेडियो प्रसारणका मानक प्रसारक पनि हुन्। विगत ४० वर्षदेखि गीत र कवितामै रमाइरहेका लम्सालको यो चौथो महाकाव्य र नवौं कृति हो।