युक्रेनका पूर्वसभामुखको गोली हानी हत्या

दियोपोस्ट संवाददाता  

युक्रेनका पूर्वसभामुख आन्द्रिय भोलोदिमिरोभिच परूबियको हत्या भएको छ। युक्रेनको पश्चिमी सहर लिविभमा शनिबार मध्याह्न पूर्वसभामुखमाथि एक संदिग्धले अन्धाधुन्ध गोली चलाएर उनको हत्या गरेको हो।

गोली प्रहार गरी हत्यारा फरार भएका थिए। परूबीयमाथि धेरै गोली प्रहार भएको थियो। गोली प्रहारबाट ५४ वर्षीया परूबीयको घटनास्थलमै मृत्यु भएको युक्रेनी प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

गोली प्रहार गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको छ। परुबीय युक्रेनी संसदका सक्रिय सदस्य थिए। उनी सन् २०१६ अप्रिलदेखि २०१९ अगस्टसम्म सभामुख थिए। सन् २०१४ को सुरुवातमा पूर्वी युक्रेनमा युद्ध सुरु हुँदा र रूसले क्राइमिया कब्जा गर्दा उनी राष्ट्रिय सुरक्षा तथा रक्षा परिषद् ९एनएसडिसी० का सचिव समेत थिए।

उनी सन् १९९१ मा स्थापना भएको सोसल नेशनल पार्टीका सह(संस्थापक पनि थिए। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले परूबीयको निधनप्रति शोक व्यक्त गरेका छन्। उनले हत्याराको खोजी र छानबिनका लागि राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। युक्रेनी अधिकारीहरूले हत्याराको पहिचान वा उद्देश्यबारे हालसम्म कुनै जानकारी सार्वजनिक गरेका छैनन्।