दार्चुलाको अपि हिमाल-३ मा कुनै पनि मतदाता भोट हाल्न आएनन्

दियोपोस्ट संवाददाता  

काठमाडौँ । आज बिहान ७ बजेदेखि देशभर प्रतिनिधि सभा निर्वाचनका लागि मतदान सुरु भए पनि दर्चुलाको एक मतदान केन्द्रमा भने अहिलेसम्म मतदान सुरु भएको छैन । अपि हिमाल गाउँपालिका-३ स्थित दुधिला माध्यमिक विद्यालय मतदान केन्द्रमा कुनै मतदाता नआएका कारण मतदान प्रकृया सुरु नभएको हो ।

सो क्षेत्रका मतदाताले ‘नो भोट’ अभियान चलाएका कारण मतदान हुन नसकेको बताइएको छ । स्थानीयहरूले यस चुनावमा सहभागी नहुने निर्णय गर्दै आएका थिए।

नौगाड गाउँपालिका-१ र अपि हिमाल गाउँपालिका-३ का बासिन्दाहरूले मतदानमा सहभागी नहुने र आफ्नो माग पूरा नभएसम्म मतदान बहिष्कार गर्ने निर्णय गरेको बताइएको छ । प्रदेश सरकारका उच्‍च अधिकारीहरूले छलफलका लागि प्रयास गरे पनि स्थानीयहरू आफ्नो निर्णयमा अडिग रहेको बताइएको छ।

यस मतदान केन्द्र अन्तर्गत झुस्कु, चौड, छविस र भट्टारका बासिन्दा सहित ३४६ जना मतदाता नामावलीमा दर्ता भएका छन्, तर अहिलेसम्म कसैले मतदान प्रक्रिया अघि बढाउन आएका छैनन्।

निर्वाचन अधिकृत र सुरक्षाकर्मीहरू यहाँ उपस्थित भए पनि मतदाताको अनुपस्थितिका कारण मतदान रोकिएको बताइएको छ। स्थानीयले वडा विभाजनसम्बन्धी माग पूरा नभएसम्म मतदानमा सहभागी नहुने आफ्नो निर्णयलाई दोहोर्‍याएका छन्।