मतदान गरेर झापा उडेका बालेन शाह किन काठमाडौं नै फर्किए? यस्तो छ कारण

दियोपोस्ट संवाददाता  

काठमाडौं। झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता एवं  झापा-५ का प्रतिनिधिसभा उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ।

शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले दियोपोस्ट समक्ष हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको बताए।

हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको उनले हामीलाई बताए।

उनले उपलब्ध गराएको निर्वाचन आयोगको पत्रमा,  हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख राख्नुपर्ने र आयोगले मागेको बखत उपलब्ध गराउनुपर्ने शर्त उल्लेख गरेर अनुमति दिएको उल्लेख छ।

“अनुमति लिएर नै हेलिकप्टर प्रयोग गरिएको हो। तर सुरक्षा निकायले झापा नजान सुझाव दिएको कारण फर्किनुभएको हो”, उनले बताए।

“बालेनजी झापा पुग्नुभए मतदाताको मनोबल अझ उच्च हुने थियो, तर सुरक्षा दलले फर्किन सुझाव दिएपछि हामी फर्कियौँ। अरू कुनै कारण छैन,’ उनले भने।

उनले कुन सुरक्षा निकायले यस्तो सुझाव दिएको भन्ने कुरा खुलाएनन्।

काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए।

हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो। उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको बताए।

WhatsApp-Image-2026-03-05-at-12.00.23-1772691791.jpeg