खनियाबासमा ढुंगा खसालेर गरिएको बाटो पुन: सन्चालनमा, एसपी भन्छन्– ‘घटना सामान्य हो, मतदान जारी छ’

- राजेन्द्र भट्ट  

धादिङ । निर्वाचनका क्रममा धादिङको खनियाबास गाउँपालिका–२ अक्थलीमा अवरुद्ध पारिएको सडक पुनः सञ्चालनमा आएको छ। माथिल्लो डुम्रे क्षेत्रमा भिरबाट ढुंगा खसालेर बाटो रोकिएपछि मतदान गर्न जाँदै गरेका करिब २०० मतदाता बीचबाटोमै रोकिएका थिए।

स्थानीय बेन्दीदेवी मतदान केन्द्रमा भोट हाल्न जाँदै गरेका मतदाताहरूलाई रोक्ने उद्देश्यले हाइड्रो आयोजनाले खनेको सडक खण्डमा माथिबाट स-सानो ढुंगा खसालिएको पाइएको हो। भिरको बाटो भएकाले माथिबाट ढुंगा खस्दा बाटो पार गर्न जोखिमपूर्ण भएको थियो।

घटनाको जानकारी पाएलगत्तै सुरक्षाकर्मी परिचालन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङकाप्रहरी उपरीक्षक (एसपी) सुमित खड्काले घटनालाई सामान्य रुपमा लिन आग्रह गरेका छन्। उनका अनुसार प्रहरी टोली घटनास्थल पुग्दा त्यहाँ कोही पनि फेला परेका छैनन्।

“कसैले  सानो ढुंगा खसालिदिएछ, तर हामी पुग्दा कोही भेटिएनन्। कुन पार्टीका कार्यकर्ताले यसो गरेका हुन् भन्ने अझै खुलेको छैन। सानो ढुंगा खसालिएकाले यो सामान्य घटना हो,” एसपी खड्काले दियोपोस्टलाई बताए।

उनले मतदान कार्य अघि बढिरहेको समेत बताए।

स्थानीय प्रशासन र सुरक्षा निकायले मतदान प्रक्रियालाई सुरक्षित र मर्यादित बनाउन थप विवरण संकलन गर्दै निगरानी बढाएको जनाएको छ।

सिफारिस