१०० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकद्वारा मतदान

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत १०० वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकले पनि मतदान गरेर लोकतन्त्रमा सक्रिय सहभागिता देखाएका छन्।

झापाको मेचीनगर नगरपालिका-१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ वर्षीया बृद्धा तुलसा कोइरालाले मतदान गरिन्।

त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका-३ बन्केवा निवासी १०७ वर्षीय गणेशबहादुर रावतले निर्माण आधारभूत प्राथमिक विद्यालय, बन्केवा मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरे। मतदानपछि उनले आफ्नो मत प्रयोग गर्न पाउँदा खुशी लागेको बताए।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-२ चपली मतदान केन्द्रमा पहिलो मतदाताका रुपमा १०५ वर्षीय चन्द्रबहादुर खड्काले मतदान गरे। उनले यो उमेरमा पनि मतदान गर्न पाउँदा खुसी लागेको बताए ।

यी ज्येष्ठ नागरिकहरूको मतदानले लोकतन्त्रको जगेर्ना र नागरिक जिम्मेवारीप्रति उदाहरण प्रस्तुत गरेको छ।

सिफारिस