
काठमाडौं । पूर्वी नेपालका केही जिल्लामा शनिबार १२ घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै शनिबार बिहान ४ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको हो ।
प्राधिकरणका अनुसार मोरङस्थित केरौन १३२/३३ केभी सबस्टेशनका उपकरणहरूको परीक्षण तथा दुहबी-दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८-६९ बिच डेड एन्ड टावर जडान कार्य सम्पन्न गर्न अस्थायी रूपमा विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
यस अवधिमा झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्रमा तथा मोरङ जिल्लाको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ ।
प्राधिकरणले निर्धारित प्राविधिक कार्य सम्पन्न भए लगत्तै विद्युत् आपूर्ति यथाशीघ्र सुचारु गरिने जनाएको छ। कार्य निर्धारित समयभन्दा अगावै सकिएमा विद्युत् सेवा पनि सोहीअनुसार समयअघि नै सञ्चालनमा ल्याइने प्राधिकरणले स्पष्ट पारेको छ ।
विद्युत् अवरोधका कारण ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत् प्राधिकरणले क्षमायाचना गर्दै आवश्यक तयारी गर्न सम्बन्धित क्षेत्रका उपभोक्तालाई अनुरोध गरेको छ।
