
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-३ स्थित पैठेडाँडा चेकपोष्टबाट अवैध मदिरासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बिहीबार राति प्रहरी चौकी दोभानबाट प्रहरी नायब निरीक्षक खिलबहादुर रानाको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको लखनउ निवासी ३७ वर्षीय एमा मोदिन र सोही स्थानका ४३ वर्षीय शिवनाथ मौर्या रहेका छन् । उनीहरू भारतको गोरखपुरबाट पोखरातर्फ जाँदै गरेको यूपी ३२ एसटी नम्बरको कारमा सवार थिए ।
प्रहरीले सवारी साधनको खानतलासी गर्दा ‘वर्ल्ड मंक’ ब्रान्डका ७५० एमएलका ६११ बोतल र ‘सिग्नेचर’ ब्रान्डका ७५० एमएलका १२ बोतल गरी करिब ५१ हजार २०० रुपैयाँ बराबरको अवैध मदिरा बरामद गरेको जनाएको छ।
बरामद मदिरासहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि प्रहरी चौकी दोभानमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।