
काठमाडौँ । सुनसरीमा स्कुल बसको ठक्करबाट ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ। गढी-४ मेहता टोलमा सडकछेउमा बसिरहेकी गुद्री देवी मेहतालाई बुधबार स्कुल बसले ठक्कर दिएको हो।
मेहता टोलस्थित भित्री सडकखण्डमा छिटाहाबाट चिमडीतर्फ जाँदै गरेको को १ ख ३३९१ नम्बरको बर्जु लेक आइडियल इङ्लिस स्कुल चिमडीको बसले सडकछेउमा बसिरहेकी स्थानीय गुद्री देवी मेहतालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी मेहतालाई इलाका प्रहरी कार्यालय छिटाहाबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम, विराटनगर पुर्याएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि प्रहरीले बससहित चालक बर्जु गाउँपालिका-६ का २२ वर्षीय सुदिप सरदारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।