
सोलुखुम्बु । सोलुखुम्बुमा जटिल अवस्थामा रहेकी गर्भवती महिलाको सफल हवाई उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत उनको हवाई उद्धार गरिएको हो।
थुलुङ दूधकोशी गाउँपालिका-७ निवासी ३८ वर्षीया शारदा बस्नेतलाई विगत तीन दिनदेखि जटिल प्रसूति समस्याका कारण प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर बनेपछि चिकित्सकीय सिफारिसमा तत्काल हवाई उद्धार गरिएको हो ।
उनलाई हवाई उद्धारमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याइएको छ। हाल उनको विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।