
संखुवासभा । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चालु आर्थिक वर्षको पहिलो महिनामै ११ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
आपराधिक घटनामा संलग्न भई अदालतबाट दोषी ठहरिएपछि फरार रहेका प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई तीव्रता दिएसँगै उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका ११ जनालाई अदालतबाट कुल २२ वर्ष २ महिना २३ दिन कैद सजाय तोकिएको थियो । उनीहरूबाट २ करोड ९ लाख १९ हजार ९ सय ४९ रुपैयाँ जरिवानासमेत असुल गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
प्रहरीले फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।