
काठमाडौँ । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीलाई तीन दिनदेखि बेपत्ता पारी बलात्कार पछि हत्या गरिएको भन्दै महिला सुरक्षा दबाब समूहले घटनाको निष्पक्ष छानबिन र आरोपीलाई हदैसम्मको कारवाही हुनु पर्ने माग गरेको छ । समूहले घटनाको निष्पक्ष, स्वतन्त्र, गहिरो तथा वैज्ञानिक अनुसन्धान गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्न माग गरेको हो ।
समुहले बिहिबार एक विज्ञप्ती जारी गर्दै घटनास्थलका भौतिक तथा फरेन्सिक प्रमाण सुरक्षित राख्न र अनुसन्धानलाई कुनै पनि दबाब वा प्रभावबाट मुक्त राख्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।
दोषी जोसुकै भए पनि पहुँच, प्रभाव वा सामाजिक हैसियतका आधारमा उन्मुक्ति दिन नहुने समूहको माग छ । दोषी प्रमाणित हुने व्यक्तिलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई न्यायका साथै मनोसामाजिक र कानुनी सहयोग उपलब्ध गराउन तथा उचित क्षतिपूर्ति दिन पनि उसले सरकारसमक्ष आग्रह गरेको छ ।
मृत अवस्थामा फेला परेको घटनाप्रति समूहले विज्ञप्तिमार्फत गम्भीर दुःख व्यक्त गर्दै बालिकामाथि बलात्कार भएको हुनसक्ने आशंका सार्वजनिक भए पनि त्यसको पुष्टि वैज्ञानिक अनुसन्धान तथा शव परीक्षणबाट हुन बाँकी रहेको जनाएको छ । अबोध बालिकाको यसरी ज्यान जानु गम्भीर मानव अधिकार उल्लंघन तथा बाल सुरक्षा सम्बन्धी विषय भएको समूहको भनाइ छ ।
घटनाले समाजमा बालिकाहरूको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको भन्दै समूहले घटनाको घोर भत्सर्ना गरेको छ । बालबालिकाको सुरक्षा राज्यको दायित्व भएकाले घटना भएपछि मात्र सुरक्षाकर्मी सक्रिय हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उसले जनाएको छ ।
महिला तथा बालबालिकामाथि हुने हिंसा, बलात्कार र हत्याविरुद्ध मानव अधिकारकर्मी, महिला अधिकारकर्मी तथा नागरिक समाजले लामो समयदेखि आवाज उठाउँदै आए पनि त्यस्ता आवाजलाई बेवास्ता गर्दा अपराधीको मनोबल बढ्दै गएको समूहको आरोप छ ।
यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी बाल संरक्षण संयन्त्र निर्माण गर्न नेपाल सरकार, गृह प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समूहले जोडदार माग गरेको छ ।
