
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले एक महिनाको अवधिमा ५ हजार ४ सय २२ वटा खाद्य नमुनामा जीवनाशक विषादी परीक्षण गरेको छ।
विभाग तथा मातहतका ७ वटा प्रदेशस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र १२ वटा नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट आर्थिक वर्ष २०८३/८४ को साउन महिनामा उक्त परीक्षण गरिएको हो।
विभागका अनुसार २०८३ साउन १ गतेदेखि ३१ गतेसम्म र्यापिड बायोएसे परीक्षण विधि (आरबीपिआर) तथा ग्यास क्रोमाटोग्राफी मास स्पेक्ट्रोस्कोपी-मास स्पेक्ट्रोस्कोपी (जीसीएससी-एमएस) विधिबाट तरकारी तथा फलफूलमा जीवनाशक विषादी परीक्षण गरिएको थियो।
आरबीपिआरविधिबाट ५ हजार ४ सय १८ वटा नमुना परीक्षण गरिएकोमा सबै नमुना मापदण्डअनुसार रहेको विभागले जनाएको छ। यस्तै, जीसीएससी-एमएस विधिबाट परीक्षण गरिएका ४ वटा नमुनामध्ये सबैमा विषादीको अवशेष मापदण्डभित्रै रहेको पाइएको छ।
विभागले परीक्षणको विवरण सार्वजनिक गर्दै परीक्षण गरिएका नमुनामध्ये कुनै पनि नमुना प्रतिकूल नदेखिएको जनाएको छ।
