पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा

दियोपोस्ट संवाददाता

काठमाडौँ । पत्रकार खेम भण्डारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएको छ। अधिवक्ता वीरभद्र जोशीले शुक्रबार भण्डारीले न्यायाधीश तथा अदालतको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै अवहेलना मुद्दा दायर गरेका हुन् ।

भण्डारीले हालै एक पत्रकार सम्मेलनमा न्यायाधीशहरूले घरमा बोरामा पैसा राखेको, उनीहरूको घरमा छापा हान्नुपर्ने, लागुऔषधसम्बन्धी मुद्दा चलाउनुपर्ने तथा न्यायाधीशहरूले ‘मालामाल पैसा कमाएको’ जस्ता आशयको अभिव्यक्ति दिएकका कारण मुद्धा दायर गर्नु परेको अधिवक्ता जोशीको भनाई छ ।

उक्त अभिव्यक्ति अदालत र न्यायाधीशको प्रतिष्ठामाथि आघात पुर्‍याउने खालको भएको भन्दै जोशीले सर्वोच्चमा मुद्दा दायर गरेको बताए ।

‘न्यायाधीशका विरुद्धमा पत्रकार भण्डारीले दिएको अभिव्यक्तिलाई लिएर हामीले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका हौँ,’ अधिवक्ता जोशीले भने, ‘न्यायाधीशको सम्पत्ति छानबिनलगायतका विषयमा सार्वजनिक बहस हुन सक्ने भए पनि अदालत र न्यायाधीशलाई अपमानित गर्ने तथा संस्थाको गरिमामाथि प्रश्न उठाउने किसिमको अभिव्यक्ति स्वीकार्य हुन सक्दैन ।’

न्यायाधीशको सम्पत्ति छानबिन गर्न नपाउने प्रावधान रहेता पनि अदालत र न्यायाधीशको अपमान हुने गरी पत्रकार खेम भण्डारीले दिएको अभिव्यक्तिप्रति आफ्नो आपत्ति रहेको र त्यसैका विरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्नु परेको जोशीले बताए ।

 

को हुन् खेम भण्डारी ?

कञ्चनपुरका पत्रकार भण्डारी ‘मानसखण्ड दैनिक’का सम्पादकका रूपमा कार्यरत छन् । पछिल्लो समय उनी पत्रकारिताभन्दा बढी विवादित अभिव्यक्ति र कानुनी विवादका कारण चर्चामा आएका छन्। विशेषगरी निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा उनले प्रकाशित गरेका सामग्री र अभिव्यक्तिलाई लिएर उनीविरुद्ध गाली-बेइज्जतीको मुद्दा परेको थियो ।

निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका क्रममा भण्डारीले दिलीप सिंह विष्ट निर्दोष रहेको दाबी गर्दै समाचार तथा सामग्री प्रकाशन गरेका थिए । भण्डारीमाथि पारिवारिक सम्बन्धका कारण विष्टको पक्षमा सामग्री प्रकाशन गरेको आरोपसमेत लाग्दै आएको थियो ।