
काठमाडौँ । नेपालका लागि डोङफेङ नामीको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई-२ लाई ३५ लाख ९९ हजार रुपैयाँमा बजारमा ल्याएको छ । कम्पनीले भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने नाडा अटो शो अवधिभर उक्त मूल्यमा गाडी उपलब्ध गराउने जनाएको छ ।
नाडा अटो शो सकिएपछि भने नामी भिगो ई-२ को मूल्य ३७ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ । यसअनुसार शो अवधिभर गाडी खरिद गर्ने ग्राहकले २ लाख रुपैयाँ मूल्य छुट पाउनेछन् ।
कम्पनीका अनुसार बजेटमार्फत परिवर्तन भएको कर तथा शुल्क संरचनालाई ध्यानमा राख्दै डोङफेङ मोटर्ससँगको सहकार्यमा नयाँ मूल्य निर्धारण गरिएको हो ।
नयाँ भिगो ई-२ लाई ‘फुल एसयूभी’का रूपमा बजारमा ल्याउन लागिएको कम्पनीले जनाएको छ । मूल्य घटाउन यस संस्करणबाट मुनरुफ हटाइएको छ भने अन्य प्रमुख फिचरहरू भने यथावत् राखिएको छ । यसअघि उपलब्ध बेस भेरियन्टको तुलनामा नयाँ संस्करण करिब ५ लाख रुपैयाँ सस्तो भएको कम्पनीको भनाइ छ ।

यसअघि नामी भिगो ई-२ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ र ई-२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ थियो ।
नामी भिगो ४४.९४ किलोवाट आवर र ५१.८७ किलोवाट आवर क्षमताका ब्याट्री विकल्पमा उपलब्ध हुँदै आएको छ । नयाँ ई-२ मा ५१.८७ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । यसको रेन्ज ३५० किलोमिटरसम्म रहेको छ । एसयूभीले १६७ किलोवाटको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।
गाडीमा ९९ किलोवाटको मोटर र १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स दिइएको छ । इको, स्ट्यान्डर्ड र स्पोर्ट गरी तीन ड्राइभिङ मोड तथा क्लाम, स्ट्यान्डर्ड र कम्फर्ट गरी तीन स्टेरिङ मोड उपलब्ध छन् ।
फिचरतर्फ १२.८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, ८.८ इन्चको इन्फर्मेसन डिस्प्ले, ३६० डिग्री क्यामेरा, ५० वाटको वायरलेस चार्जर, वान-टच रियर सिट फोल्ड तथा अगाडिका सिटलाई बेडको स्वरूपमा परिवर्तन गर्न सकिने सुविधा दिइएको छ ।

एसयूभीमा एसीका लागि न्याभ, रेस्ट र स्नो मोड छनोट गर्न सकिने सुविधा छ भने भ्वाइस कन्ट्रोलमार्फत गाडी तथा मोबाइलका विभिन्न फङ्सन सञ्चालन गर्न सकिन्छ । वेलकम तथा मेमोरी सिट, म्युजिकसँग सिंक्रोनाइज हुने एम्बियन्ट लाइट, हेभन एन्ड अर्थ टेलगेट, थ्री-सी फास्ट चार्जिङ र बाहिरी स्पिकरजस्ता सुविधा पनि छन् ।
सुरक्षाका लागि लेभल-२ एडीएएस, ६ वटा एयरब्याग, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल र अटो होल्डजस्ता फिचर समावेश गरिएको छ । चालकको सिट हिटेड तथा भेन्टिलेटेड रहेको छ ।

गाडीमा १८ इन्चको ह्वील, वायरलेस कनेक्टिभिटी, वाइफाइ कनेक्टिभिटी, वेलकम साउन्ड तथा अटोमेटिक हाइ-लो बीम छनोट गर्ने हेडलाइट पनि उपलब्ध छन् । कम्पनीका अनुसार एसयूभीमा विभिन्न ३५ स्थानमा स्टोरेज स्पेस दिइएको छ ।
बाहिरी डिजाइनमा टी आकारको एलईडी हेडलाम्प र ट्रयाङ्गुलर पिक्सेल टेललाइट प्रयोग गरिएको छ, जसले गाडीलाई छुट्टै स्वरूप दिएको कम्पनीको दाबी छ ।