
बारा । जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेस्थित सुकुमवासी बस्तीकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयवासीले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनका कारण वीरगञ्ज-पथलैया सडकखण्डसमेत अवरुद्ध भएको छ ।
घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपी दिलीप क्षेत्रीलाई निलम्बन गर्नुपर्ने तथा प्रहरी नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै स्थानीयले सिमरामा प्रदर्शन गरेका हुन् ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार सडक खुलाउने विषयमा बुधबार आन्दोलनरत पक्षसँग पटकपटक छलफल भए पनि उनीहरूका माग तत्काल सम्बोधन गर्न नसकिने भएपछि सहमति जुट्न सकेन ।
बालिका हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ। तर, बालिका हराएको सूचना समयमै दिँदा पनि प्रहरीले खोजीमा आवश्यक सक्रियता नदेखाएको र पीडित परिवारले किटानी जाहेरी दिएका व्यक्तिमाथि समयमै अनुसन्धान नगरेको स्थानीयको आरोप छ ।
बालिका हराएको तीन दिनसम्म प्रहरीले प्रभावकारी खोजी नगरेका कारण घटना भएको स्थानीयको आरोप छ । परिवारले शव फेला पर्नुअघि नै पक्राउ परेका दुई जनाविरुद्ध किटानी जाहेरी दिएको दाबीसमेत स्थानीयले गरेका छन् ।
मंगलबार साँझ बालिकाको शव फेला परेपछि प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको थियो । घटनाको विरोधमा स्थानीयले दोषीमाथि कडा कारबाही र प्रहरीको भूमिकामाथि छानबिनको माग गर्दै आन्दोलनलाई निरन्तरता दिएका छन् ।