पब्जीको ‘युसी क्वाइन’ लुटिएपछि काठमाडौँमै भयो युवकको अपहरण, ७ जना पक्राउ

मदन ढुङ्गाना

मोबाइल गेम ‘पब्जी’ र ‘फ्री फायर’ खेलेर वर्षौँदेखि जम्मा गरेको १८ हजार युसी क्वाइन लुटिएपछि काठमाडौँमै एक युवकको अपहरण भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अपहरणमा संलग्न ७ जनालाई गत बिहीबार नै पक्राउ गरेको भए पनि अपहरणको कारण भने आइतबार मात्रै खुलेको हो ।

तर जुन व्यक्तिको साथमा रहेको युसी क्वाइन लुटियो, ती व्यक्ति र अपहरणमा परेका व्यक्तिको भने कुनै सम्बन्ध देखिएन । लुट्ने व्यक्तिले नै लुटिने व्यक्तिलाई जानकारी दिएर अर्को एक निर्दोष व्यक्तिको अपहरण भएको पाइएको छ । ती निर्दोष व्यक्ति थिए, धनुषामा नवीन राय, जसको न अपहरणकारीसँग सम्बन्ध थियो, न क्वाइन लुटिएको बारे नै जानकारी थियो । मात्रै भारतीय ‘साथी’ले मेरो साथीलाई भेट्नु भनी पठाएकै कारणबाट नवीन अपहरणमा परेका थिए ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले यो अपहरणमा योजनाकार रहेका रामेछापको लिखु तामाकोशी गाउँपालिका ३ घर भई कलंकीमा बस्दै आएका ३२ वर्षीय मनोज बुढाथोकी सहितका ७ जना व्यक्तिलाई पक्राउ गरी अहिले अदालतबाट म्याथ थप गरी अनुसन्धान गरिरहेको छ ।

अपहरणमा संलग्न ७ जना व्यक्तिहरु ।

अपहरणमा संलग्न अन्य व्यक्तिहरूमा अर्घाखाँचीको मालारानी गाउँपालिका ३ का २२ वर्षीय प्रदीप पोखरेल, ओखलढुंगाको लिखु गाउँपालिका ५ का २४ वर्षीय निमेश कार्की, काभ्रेको भुम्लु गाउँपालिका ८ का २३ वर्षीय देवकुमार श्रेष्ठ, सर्लाहीको लालबन्दी नगरपालिका ४ का २२ वर्षीय जेनिश चौधरी, चितवनको राप्ती नगरपालिका २ का २४ वर्षीय अमित ओली र मकवानपुरको बागमती गाउँपालिका ५ का २० वर्षीय निशान रुम्बा तामाङ रहेका छन् ।

भएको के थियो ?

यो अपहरणको मुख्य योजनाकार रहेका मनोज बुढाथोकीसँगै नै यो सम्पूर्ण प्रकरण जोडिएको छ । मनोजले पब्जी र फ्री फायर लगायतका मोबाइल एप्लिकेसनमा गेम खेलेर जितेको डायमन्डको युसी क्वाइन अर्थात् भर्चुअल मनीको चोरी वा लुटपाटबाट सुरु हुन्छ ।

घटना हो, २०८३ साउन २८ गते बिहीबारको । मनोजले पब्जी र फ्री फायरमा गेम खेलेर १८ हजार युसी क्वाइन अर्थात् गेमिङ डायमन्ड जितेका थिए । उक्त युसी क्वाइन कुनै विशेष फिचर लिन वा प्रयोग गर्न त्यहाँ पनि किन्नु नै पर्ने हुन्छ र त्यसको सटही दर पनि एक क्वाइन बराबर एक अमेरिकी डलर नै कायम गर्ने गरिएको छ ।

आफूले जितेको गेमिङ डायमन्ड सटही गर्ने योजना बनाई ग्राहक खोजिरहेका मनोजको भेट सामाजिक सञ्जालबाटै भारतीय नागरिक रोहित भन्नेसँग हुन्छ । रोहितको आफ्नो फेसबुकमै विज्ञापन राखेर युसी क्वाइनसँग डलर साटेमा बढी रकम दिने दाबी गरेका थिए । रोहितको सञ्जालमा ‘डलर कार्डमा भर्चुअल मुद्रा लोड गरिदिन्छु’ भन्ने विज्ञापन समेत थियो । त्यसपछि नै मनोज र रोहितको कुराकानी भएको थियो ।

कुराकानीपछि अमेरिकी डलरभन्दा पनि बढी रकम दिने प्रलोभन रोहितले देखाएका थिए र ट्रान्सफरका लागि ‘ट्रस्ट वालेट’ एप डाउनलोड गर्न भनिएको थियो । साथै नेपालमा नवीन राय नाम गरेको आफ्नो साथी रहेको र उसले नै अमेरिकी डलर दिने भनी रोहितले मनोजलाई विश्वास दिलाएका थिए । त्यसबाहेक नवीनको फोन नम्बर पनि रोहितले मनोजलाई उपलब्ध गराएका थिए ।

रोहितको विश्वासमा परी मनोजले ट्रस्ट वालेट नामक मोबाइल एप्लिकेसन डाउनलोड गरी आफ्नो विवरण भर्ने बित्तिकै मनोजको वालेटमा रहेको १८ हजार युसी क्वाइन रित्तिएको थियो । त्यसपछि पनि भारतीय नागरिक रोहित र मनोजबिच कुराकानी भई साथीसँग अमेरिकी डलर लिन भनिएको थियो र कुराकानी बमोजिम नै रोहितले नवीनको लाइभ लोकेसन पठाएर कुलेश्वरको भेटघाट रेस्टुरेन्टमा जान भनिएको थियो ।

अनि कफीका ‘बारिस्ता’ पुगे कुलेश्वरको भेटघाट रेस्टुरेन्ट

मनोजको खातामा रहेको युसी क्वाइन ह्याक गरिसकेपछि पनि रोहितले मनोजलाई भने, ‘मेरो साथीको लोकेसन पठाइदिन्छु, उसलाई भेटेर अमेरिकी डलर लिनु ।’

रोहितले बुढाथोकीलाई नवीन रायको मोबाइल नम्बर र कुलेश्वरस्थित भेटघाट रेस्टुरेन्टको लोकेसन पठाइदिएका थिए । ठमेलको रोयल क्याफे एन्ड थकाली भान्साघरमा बारिस्ता अर्थात् कफी बनाउने काम गर्ने नवीन भारतीय साथी रोहितले गएर भेट्नु भनेकै आधारमा मनोजलाई भेट्न गएका थिए ।नवीनको पनि रोहितसँगको चिनजान फेसबुकबाटै भएको खुलेको छ । नवीनलाई आफू किन अरू कसैलाई भेट्न जाँदै छु भन्नेसमेत थाहा नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

फिल्मी शैलीमा अपहरण

२०८३ साउन २८ गते दिउँसो करिब १ बजे नवीन कुलेश्वरको भेटघाट रेस्टुरेन्टमा पुग्छन् । उनी आउने खबर पाउनासाथ बुढाथोकीले आफ्नो टोली परिचालन गरी भेटघाट रेस्टुरेन्टमा पठाएका थिए । उनले सबैभन्दा पहिले प्रदीप पोखरेललाई मोटरसाइकलमा क्याफेको निगरानी गर्न पठाए । नवीन आएको पुष्टि भएपछि बुढाथोकी आफै क्याफे पुगे । उनीसँग निमेश कार्की र देवकुमार श्रेष्ठ पनि सँगै गए ।

क्याफेमा पुगेपछि बुढाथोकीले नवीनसँग डलर माग गरे । तर नवीनसँग न डलर थियो न त कुन कामका लागि किन पुगेको छु भन्ने नै थाहा थियो । आफूसँग कुनै डलर नभएको बताएपछि मनोजले धारिलो हतियार देखाउँदै धम्की दिए । त्यसपछि आत्तिएका नवीनलाई जबरजस्ती पहिले नै तयारी अवस्थामा राखिएको ट्याक्सीमा हालियो । त्यसपछि मनोज बुढाथोकी, कार्की र श्रेष्ठ पनि सोही ट्याक्सीमा चढेर नवीनलाई अपहरण गरी लिएर गए । नवीन रायलाई बोकेको ट्याक्सीलाई पोखरेल र अन्यले मोटरसाइकलमार्फत स्कर्टिङ गरियो । यो शैली पूर्ण रूपमा अपहरणको फिल्मी दृश्य जस्तै थियो ।

नवीनलाई लगिएको ट्याक्सी काठमाडौँको नागार्जुन नगरपालिका ५, छेग्डोलमा पुगेर रोकियो । त्यहाँ मनोज बुढाथोकीले अनलाइन बिजनेसका लागि भन्दै रेनुका महर्जनको एकतले घर भाडामा लिएका थिए । सोही घरमा बुढाथोकीले डेलिभरी ब्वाईका रूपमा राखेका कर्मचारीहरू सर्लाहीका जेनिश चौधरी र मकवानपुरका निशान रुम्बा तामाङ पनि बस्ने गर्दथे ।

अर्धनग्न बनाएर निर्घात कुटपिट

छेग्डोलस्थित भाडामा लिइएको घरमा पुराएपछि बुढाथोकीको समूहले नवीनलाई नाइलनको डोरीले हातखुट्टामा बाँधिदियो । उनी नवीनको लुगा खोलेर अर्धनग्न बनाइयो । त्यसपछि प्लास्टिकको पाइपले शरीरभरि निर्घात कुटपिट गर्दै पुनः डलर माग्न थालियो । कुटाइका कारण नवीनको शरीरभरि नीलडाम देखिएको छ । नवीनलाई उद्धार गर्न प्रहरी घटनास्थलमा पुग्दासमेत नवीनलाई कुटिरहेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले उद्धार गर्ने क्रममा हात र गोडा बाँधी कुटपिट भइरहेको अवस्थाको तस्बिर ।

तर, सबैभन्दा अचम्मको कुरा के छ भने नवीनलाई अपहरण गर्नुको कारण उनी स्वयं होइनन्, बरु अनलाइनबाट चिनिएका भर्चुअल ‘साथी’ रोहितको कारोबार थियो । अपहरणकारीको समूहले नवीनलाई सोधेका थिए, ‘तिमीले रोहितलाई दिएको डलर कार्डको पासवर्ड के हो ? क्रिप्टो कारोबारको एक्सेस कहाँ छ ?’

नवीनले आफूले रोहितलाई कुनै पनि डलर कार्ड नदिएको र ‘एउटा साथीलाई भेट्न जाऊ भनेर मात्रै आएको र लेनदेन बारे कुनै कुरा जानकारी नभएको बताइरहे । तर मनोजको समूहले नवीनलाई विश्वास नै गरेन । उनीहरूले नवीनलाई ‘तिमी र रोहितको पार्टनर हौ’ भन्दै यातना दिँदै कुटपिट जारी राखे ।

कुटाइकै क्रममा अपहरणकारीको समूहले नवीनको मोबाइलबाट उनका परिवारका सदस्य र साथीलाई सम्पर्क गरी अडियो सन्देशसमेत पठाएको थियो । अडियो सन्देशमा ‘तिम्रो छोरालाई हामीले अपहरण गरेका छौँ । १८ लाख रुपैयाँ फिरौती दिएनौ भने उसलाई मार्छौँ ।’ यो धम्कीसहितको अडियो सुन्ने बित्तिकै नवीनका आफन्त र साथी त्रसित बने, अनि तत्काल प्रहरीलाई खबर गरे । तर त्यति बेलासम्म प्रहरीलाई समेत व्यक्ति अपहरणमा परेको खबर आइसकेको थियो ।

प्रहरीको साँढे चार घण्टको ‘रेस्क्यु अपरेसन’

व्यक्ति अपहरणमा परेको सूचना प्रहरीलाई सोही दिन अपराह्न २ बजेको आसपासमा प्राप्त भएको थियो । त्यसपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले गुन्डागर्दी तथा अपहरण सम्बन्धी अनुसन्धान गर्ने इकाई अर्थात् ‘पिल्लर-४’ का इन्स्पेक्टर सुरज खत्रीको टोलीलाई तत्काल परिचालन गरे । त्यसपछि प्रहरीले ‘टेक्निकल एनालाइसिस ह्युमन इन्टेलिजेन्सको सहयोगमा अपहरणकारीको ठेगाना पत्ता लाग्यो ।

नवीनलाई पिट्न प्रयोग गरिएको पाइप

सूचना आएको करिब साँढे चार घण्टापछि, साउन २८ गते साँझ ६ः३० बजे प्रहरी टोली नवीनलाई अपहरण गरी राखिएको छेग्डोलको घरमा पुग्यो । त्यहाँ अपहरणकारीको समूहले नवीनलाई अर्धनग्न अवस्थामा पाइपले कुटिरहेका थिए । उनको शरीरभरि चोटको निसान भेटिएको थियो । प्रहरीले तत्काल नवीनको उद्धार गर्‍यो भने घटनास्थलबाट पिट्न प्रयोग गरिएका प्लास्टिकका पाइप, नाइलनको डोरी, चक्कु र अन्य सामान समेत बरामद गरी अपहरणमा संलग्न रहेका सातै जनालाई नियन्त्रणमा लियो ।

कसको भूमिका कस्तो ?

प्रहरी अनुसन्धानमा यस अपहरणको मास्टरमाइन्ड मनोज बुढाथोकी नै रहेको खुलेको छ । मनोजले नै रोहितसँग सम्पर्क गरी नवीनलाई क्याफेमा बोलाउने व्यवस्था मिलाएका थिए, ट्याक्सी र घरको व्यवस्था समेत मनोजले नै गरेका थिए । अनि अपहरणपछि यातना दिने निर्देशन पनि उनैले दिएका थिए । प्रहरीका अनुसार बुढाथोकी आफ्नो बुवाले चलाएको पसलबाटै ‘अनलाइन बिजनेस’ गर्दै आएका थिए ।
बुढाथोकीले प्रदीप पोखरेललाई निगरानी गर्ने कामका लागि खटाएका थिए भने निमेश कार्की र देवकुमार श्रेष्ठलाई अपहरणमा सहयोगीका रूपमा प्रयोग गरेका थिए । त्यसै गरी जेनिश र निशानलाई स्थानीय सहारादाताका रूपमा प्रयोग गरेका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पक्राउ परेका सातै जनाविरुद्ध अपहरण र शरीर बन्धकको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको बताए । यो अनुसन्धानपछि कार्यालयले आफै मुद्दाको अभियोजन गर्ने तयारी गरेको छ । कार्यालयले रायसहितको प्रतिवेदन दिएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । यो मुद्दा कार्यालयले समेत मुद्दा दायर गर्न पाउने व्यवस्था बनेपछि पहिलो मुद्दा हुने छ ।

घटनासँग सम्बन्धित छोटकरी विवरण :

अपहरण मिति : २०८३ साउन २८ गते (दिउँसो १ बजे)
स्थान : कुलेश्वरको भेटघाट क्याफेदेखि नागार्जुन ५ को छेग्डोलसम्म
पीडित : धनुषाका नवीन राय
अपहरणको कारण : युसी क्वाइन चोरी वा सटहीको बहानामा लुटिएको
मुख्य योजनाकार : मनोज बुढाथोकी
पक्राउ परेका अन्य आरोपीहरू : प्रदीप पोखरेल, निमेश कार्की, देवकुमार श्रेष्ठ, जेनिश चौधरी, निशान रुम्बा तामाङ र अमित ओली ।
मागिएको फिरौती : १८ लाख रुपैयाँ
प्रहरी कारबाही : ६ दिनको म्यादमा अनुसन्धान
बरामद सामान : पाइप, डोरी, चक्कु

सम्बन्धित खबर